चितवन, १४ जेठ । बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातको प्रभावस्वरुप नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोेले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।
चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले भोलि दिउँसोसम्म वर्षा हुने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले सीआईएनलाई जानकारी दिनुभयो । उहाँले चक्रवातको प्रतिकूल असरप्रति सतर्क रहनसमेत आग्रह गर्नुभयो ।
महाशाखाले जनाएअनुसार आज हिमाली र पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका उच्च हिमाली भेगमा भारी हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले औँल्याएको छ ।
भोलि मध्याह्नसम्म हल्का वर्षा र बदलीको अवस्था रहने र त्यसपछि मौसम सुधार हुने जनाइएको छ ।