लक्ष्मण विश्वकर्मा, दाङ, ४ जेठ । लकडाउनको मौका छोपी काठ तस्कर गरेको आरोपमा तुलसीपुरमा बस चालक सहित सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर ६ बनकट्टा बस्ने रा १ ख २३७५ नम्वरको बस चालक ३१ बर्षिय चुमानसिंह चौधरी, सोहि ठाउँका २२ बर्षिय समिर चौधरी, २० बर्षिय मनोज चौधरी, २० बर्षिय सन्तोष चौधरी, १८ बर्षिय विजय चौधरी, २८ बर्षिय श्याम चौधरी र ३८ बर्षिय शिव परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
उनीहरुलाई बसमा लोड गरिएको ३५ क्युफिट सालका काठ सहित पक्राउ गरिएको हो । विशेष सुचनाको आधारमा उनीहरुलाई मंगलवार विहान तिन बजेतिर पक्राउ गरिएको हो । लकडाउनको मौका छोपेर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ र ३ लाई जोड्ने गरी भमके खोलामा बनेको सार्वजनिक काठको पुल भत्काएर काठ चोरी गर्दा गदै उनीहरुलाई पक्राउ गरिएको हो ।
बर्षौ पहिले अभिधारा र गुडालेडाँडा जोड्ने गरी भमकेखोलामा काठेपुल बनाईएको थियो । उनीहरुले यस अघि गएको बैशाख ३० गते राती पनि सोहि पुलको काठ चोरी गरेका थिए । उनीहरुलाई आबश्यक कारवाहीका लागी सब डिभिजन वन कार्यालय तुलसीपुरको जिम्मा लगाईएको प्रहरीले बताएको छ ।
उनीहरुलाइ हाल जमानतमा छोडिएको छ ।घटनाको अनुसन्धान भईराख्ने तर हाल लकडाउन अवधीभरका लागी उनीहरुलाई जमानतमा छोडिएको प्रहरीको भनाइ छ ।