काठमाण्डौ, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । आज विहान ९ बजेका लागि बैठक बोलाइएको हो । लामो समयपछि परिषद्को बैठक बस्न लागेको हो ।
गत ३० मंसिरयता परिषद्को बैठक बसेको छैन । यसबीच आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित हुनु हुने छैन । हिजो एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने बताउनुभएको छ ।
त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठकमा सहभागी नहुने जनाइसक्नुएको छ । सापकोटा मंसिर ३० को बैठकमा पनि सहभागी हुनुभएको थिएन । ३० मंसिरमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
राष्ट्रपति भण्डारीले २१ वैशाखमा मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८ जारी गर्नुभएको थियो । अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो ।