लक्ष्मण विश्वकर्मा, दाङ, २३ बैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गाईडहरमा मृत फेला परेका तिन जना बालकका आफन्तीहरुले ६ दिन वितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषी पत्ता नलाग्दा सम्म शव नबुझने बताएका छन् ।
मृतक करण परियारका अभिभावक किरण परियारले घटना रहस्यमय भएको भन्दै दोषी पत्ता नलाग्दा सम्म आफुहरुले शव नबुझने बताउनु भएको छ । आफ्ना अबोध बालकहरुको रहस्यमय तरिकाले हत्या गरेको दावी गदै उहाँले सत्यतथ्य छानविन हुनु पर्ने माग गर्नु भएको छ । दोषी पत्ता लगाई कडा कारवाही गर्नुपर्ने पिडित पक्षहरुको माग छ ।
गत शनिवार साँझ तुलसीपुर ६ स्याउली बजार नजिकै रोकी राखेको कार भित्र गाईडहर बस्ने ९ बर्षिय सन्दिप परियार, ७ बर्षिय सुवर्ण परियार र ६ बर्षिय करण परियार मृत भेटिएका थिए । उनीहरुको आईतवार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम गरी शवलाई शव गृहमा राखीएको छ ।
बैशाख १६ गते घरबाट हराएका ती बालकहरु गएको माघ देखी पार्किङ गरि राखीएको आरजे ०१ सीसी ०८८५ नम्वरको भारतीय नम्वर प्लेट भएको गाडी भित्र मृत फेला परेका थिए । प्रहरीले गाडी धनी यादव गैरे र चालक पदम बस्नेतलाई पक्राउ गरी घटना बारे आबश्यक अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।