Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना सहित चितवनका सबै स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र बनाइदै

इच्छाकामना सहित चितवनका सबै स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र बनाइदै

इच्छाकामना गाउँपालिकामा ६० बेडको आइसोलेसन तयार

रासस

२२, बैशाख २०७८
इच्छाकामना सहित चितवनका सबै स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र बनाइदै
images

भरतपुर, २२ बैशाख । नयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् । जिल्लाका अस्पतालमा आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् ।

images
images

अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा कोरोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ ।

बिरामीलाई शय्या अभाव हुन नदिनका लागि आइसालेशन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ । भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्ष्य गरेर अक्सिजनसहितको आइसोलेशन शय्या तयार पारेका छन् ।

रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नं १६ वडा कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा आठ शय्याको आइसोलेशन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।

होम आइसोलेशनमा बस्ने वातावरण नभएका सङ्क्रमितलाई राख्ने गरी वडा कार्यालयको सभाहल र अस्पतालमा आइसोलेशन तयार गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँले आइसोलेशनमा राख्न हाललाई जम्मा सातवटा अक्सिजन सिलिन्डर पाइएको बताउँदै अरु शय्यामा अक्सिजन खोजिरहेको बताउनुभयो ।

उहाँले सामान्य अवस्थाका बिरामी होम आइसोलशनमै रहेको र जटिल नभएसम्म अस्पताल नआउन भनिएको बताउनुभयो । नगरपालिकाले तयार गरेको आइसोलशनमा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मी र औषधिको समेत व्यवस्था गरिएको छ । कोरोनाको दोस्रो लहर शुरू भएपछि वैशाख १ गतेयता रत्ननगरमा १०८ मा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये नौ जना अस्पतालमा उपचारत रहेको र ९९ होम आइसोलेशनमा रहेको नगरप्रमुख वनले बताउनुभयो ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले नगरपालिकाले भण्डारा अस्पतालमा अक्सिजनसहित ३० शय्याको आइसोलेशन कक्ष बनाएको बताउनुभयो । अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र आइसोलशनमा राखिने उहाँको भनाइ छ । सामान्य अवस्थाका बिरामीलाई सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले पहिले बनाइएको २० शय्याको आइसोलशन कक्षलाई पुनः सरसफाइ गरेर तयारी अवस्थामा राखिएको बताउनुभयो । अक्सिजनसहितको सो आइसोलशन कक्ष माडी नगरपालिका–६ छरछरेमा छ । यस्तै छ शय्यासहितको कोरोना रोकथाम तथा नियन्त्रण अस्पतालसमेत बनाइएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले २४ शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताउनुभयो । उहाँले वडा नं २ मा रहेको स्वास्थ्यचौकीमा १५ शय्या र वडा नं ९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नौ शय्याको आइसोलशन बनाइएको जानकारी दिनुभयो । शय्यामा अक्सिजन राख्ने तयारी गरिरहेको उहाँको भनाइ थियो ।

कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कालिका अस्पतालमा नगरपालिकाले २० शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताउनुभयो । उहाँले आइसोलेशनमा शय्या र अक्सिजन राखिसकिएको र अन्य सामग्री थप्दै जाने जानकारी दिनुभयो । उहाँले आइसोलेशनमा बिरामी आएमा तत्कालै राख्न सक्ने गरी तयारी गरिएको बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाकामा पनि ६० शय्याको आइसोलेशन कक्ष तयार भएको छ । स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाका अनुसार गाउँपालिकामा सामुदायिक भवन, सामुदायिक विद्यालय, गाउँपालिका परिसर, सामुदायिक प्रहरी भवन र इच्छाकामना कोरोना अस्थायी अस्पतालमा गरी ६० शय्याको आइसोलशन रहेको छ । हाललाई कोरोना अस्थायी अस्पतालमा १० शय्याको सुविधासम्पन्न आइसोलशन निर्माण गरिएको छ । यहाँ अक्सिजनसहित अन्य आधारभूत स्वास्थ्य उपकरण र औषधि रहेको सापकोटाले बताउनुभयो । अरु शय्यामा पनि अक्सिजनको व्यवस्था गर्दै लगिने उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले आइसोलेशन निर्माणका लागि सबै सरोकारवाला पक्षसँग छलफल गरिएको बताउनुभयो । मङ्गलबार चितवनमा रहेका सबै अस्पतालसँग सल्लाह लिन बैठक बसिएको जनाउँदै उहाँले अब कसरी अघि बढ्ने भन्नेबारे योजना बनाइने बताउनुभयो । पहिलो लहर फैलँदा भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा कोभिड–१९ अस्पताल र बागीश्वरी प्राकृतिक चिकित्सालयमा आइसोलेशन कक्ष बनाएको महानगरले अब के गर्ने भन्ने कुनै ठोस निर्णय लिन सकेको छैन ।

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १२:१९:२३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology