रोशन तिवारी, पर्वत, २० बैशाख । पर्वतको मोदी गाउँपालिकाले दोस्रो लहरको कोरोना सङ्क्रमण समूदायमा फैलिएपछि त्यसको निगरानी र स्वास्थ्य सुरक्षा अपनाउने कार्यमा प्रेरित गर्न सबै वडामा निगरानी समूह परिचालन गर्ने भएको छ ।
कोरोना सङ्क्रमण भएका जिल्लाबाट पालिकामा भित्रिने व्याक्तिको निगरानी गर्न, स्वास्थ्य मापदण्डको पालना गर्न गराउन, समूदायमा चेतना फैलाउन तथा शंकास्पद व्याक्तिको बारेमा जानकारी दिने गरि वडाहरुमा निगरानी समूह खटाउन लागिएको मोदी गाउँपालिकाले जनाएको छ ।
आठ वटा वडा रहेको मोदीमा प्रत्येक वडामा १५ जना रहने गरि निगरानी समूह गठन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत किसानवहादुर क्षेत्रीले जानकारी दिनुभयो । समूहमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षकहरु, कर्मचारी, स्वास्थ्य स्वयंसेवकहरु, टोल विकास समितिका प्रतिनिधी, आमा समूह, यूवा क्लव, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधीहरु समेत रहने छन् ।
गाउँपालिकाले हिजो एक सूचना प्रकाशित गरि प्रत्येक वडाबाट समिति बनाएर पालिकामा पेश गर्न र गाउँपालिकाले आवश्यक परामर्श दिएर वडामा पचिालन गर्ने जनाईएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले मात्रै निगरानी गर्न नसक्ने भएकाले वडाका सरोकारवालालाई नै कोरोना सङ्क्रमणको नियन्त्रणमा खटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले बताउनुभयो ।