काठमाण्डौ, १९ बैशाख । लुुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि पनि शंकर पोखरेल नियुक्त हुनुभएकोछ । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आज उहाँलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । साहले पोखरेललाई संविधानको धारा १ सय ६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उहाँलाई मुख्य मन्त्रीमा नियुक्त गरेको बताउनुभएको छ ।
पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गर्नुभएको थियो । त्यस लगत्तै प्रदेशसभा सदस्य विमला केसी माओवादी तिर लागेको घोषणा गर्नुभएको थियो । दुबै पक्षमा बराबरी सांसद भएको र बहुमत नपुगेको अवस्थामा पोखरेल मुख्यमन्त्री नबने विश्लेषण भएको भएपनि प्रदेश प्रमुखले उहाँलाइ मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसैबीच, प्रदेश सभाका चार विपक्षी दलले आज दिउँसो एक बजे नै ४२ जना सांसदको हस्ताक्षर बुझाए पनि प्रदेश प्रमुखले एकतर्फी रुपमा पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेको दाबी गरेका छन् ।

उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा ४२ जनाको हस्ताक्षर भएको पत्र दर्ता गराएर एक/डेढ घण्टामा सबै सांसदलाई उपस्थित गराउने जानकारी गराएको केहीबेरमै प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको बताएका छन् ।
प्रदेश सभा सदस्य दुगनारायण पाण्डेले राजीनामा दिनुभएको छ । सत्तारुढ एमालेबाट निर्वाचित उहाँले प्रदेश सभा सभामुख पूर्णबहादुर घर्ती समक्ष राजीनामा दिनुभएको हो । सीआईएनसंग कुरा गर्दै पाण्डेले सरकार बनाउने नाममा भएको राजनितिक देखेर राजीनामा दिन बाध्य भएको बताउनुभयो ।
एमालेको सूर्यचिह्न लिएर स्वतन्त्र तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित अजय शाही र धर्मलाल श्रीवास्त भने विपक्षी गठबन्धनमा लागेका छन् ।शाही र श्रीवास्तवले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा लागेका छन् । दुवैले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।