रोशन तिवारी, पर्वत, १५ बैशाख । पर्वतमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा सङ्क्रमितको व्यवस्थापनमा चूनौती देखिएको छ । जिल्लामा सातै स्थानीय तहले निर्माण गरेको कोरोना विशेष अस्पताल अहिले हटाईसकिएको छ । स्थानीय तहले शुरु गरेको कोभिड सङ्क्रमितको उपचारका लागि निर्माण गरिएका क्वारेन्टाईन र आईसोलेसन पनि अहिले सक्रिय छैनन् ।
स्थानीय तहले विभिन्न विद्यालयमा बनाएका क्वारेन्टाईन र आईसोलसन सरकारको आदेशले हटाईएका हुन् । विद्यालयमा नियमित पठनपाठन शुरु गर्नुपर्ने भएकाले गतवर्ष निर्माण गरिएको क्वारेन्टाईन र आईसोलेसन हटेका हुन् । अहिले दोस्रो लहरको सङ्क्रमणकाबढेपछि कोरोना सङ्क्रमितको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।
कुश्मा स्थित गुप्तेश्वर क्याम्पसमा सञ्चालित कोभिड अस्पताल पुन: सञ्चालन गर्नुपर्ने नागरिक तहबाट माग उठेको छ । जिल्लामा सङ्क्रमित बढ्दै गए पर्वत अस्पतालको क्षमताले नधान्ने भएकाले कोभिड अस्पताल पुन: सञ्चालन गर्नुपर्ने आवाज उठेको हो । जिल्लामा हिजो सम्मको तथ्याङ्कमा अहिले ४ सय २६ जना सङ्क्रमित छन् ।
जिल्लामा कोरोना सङ्क्रमितलाई भर्ना गरेर उपचार गर्ने अस्पताल नहुँदा अस्पताल खोज्दै पोखरा पुग्नुपर्ने बाध्यता बिरामीको छ । एकातिर पर्वत अस्पतालले आकस्मिक र प्रसुती हुने सेवाग्राहीलाई मात्रै अस्पतालमा आउन अनुरोध गरेको छ । कोरोना सङ्क्रमणको कुनै पनि लक्षण देखिएमा कहाँ जाने भन्ने सर्वसाधारणमा अन्यौल छ ।
पोखरामा पनि अस्पतालमा सहजै बेड पाउने स्थिती छैन । जिल्ला संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जिल्लामा कोरोना विशेष अस्पताल सञ्चालनका लागि पहल भैरहेको जानकारी दिनुभयो ।
उहाँले गुप्तेश्वर क्याम्पसको अस्पतालमा नभई यसपाली पर्वत अस्पतलको नवनिर्मित भवनमा कोभिड विशेष अस्पताल बनाउने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।