सर्लाही, २८ चैत । सर्लाहरुमा शान्ती सुरक्षामा खटिएका राष्ट्रसेवक कर्मचारी नेपाल प्रहरी आफैँले चोरीका सवारी साधनहरु प्रयोग गर्ने गरेको पाइएको छ। राष्ट्रको सुरक्षामा खटिएका नेपाल प्रहरीका कर्माचारीहरु आफैँले चोरीका मोटरसाईकल र भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई नेपाली नम्बरप्लेट हालेर प्रयोग गर्ने गरेको पाइएको हो ।
चोरीका सवारी साधनहरु आफ्नो कार्यालयमा अरु सवारी साधन नभएको समयमा कार्यालय प्रयोजनका लागि अनुमती लिएर प्रयोग गर्न स्वाभाविकै होला तर आफ्नो कार्यालयमा अरु सवारी साधनहरु हुँदा हुदै पनि चोरीका सवारी साधनहरु र भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई नेपाली नम्बरप्लेट हालेर प्रयोग गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले भारतिय नम्बर प्लेट रहेको भनि करिब २ वर्ष पहिला प्रहरीले नियन्त्रणमा लिएको बुलेट वाईकलाई नेपाली नम्बर प्लेट हाली प्रयोग गरेका छन् । उनले ना ४८ प ९१६३ नम्बर प्लेट हाली प्रयोग गरेका हुन ।
नागरिकको सामान्य समस्यामा पनि माफि नदिने प्रहरी निरिक्षक थापा आफैँले सो मोटरसाईकल प्रयोग गरि रहेका छन् भने वा २९ प १३०७ नम्बर प्लेटको चोरीको मोटरसाइकल उनका भान्से रोशन मण्डलले प्रयोग गरिरहेका छन् ।
त्यस्तै ना २९ प ६२२५ नम्बरको अर्को चोरीको मोटरसाईकल प्रहरी निरिक्षक थापाले राखेका घुमुवा प्रहरी जवान राम बहादुर रावलले प्रयोग गर्ने गरेका छन् ।
नागरिकले कारणवस सवारी दर्ता किताव छुटेको र पुनःआउँदा लिएर आउछु भन्दा समेत कार्बाही गर्ने नेपाल प्रहरी र ट्राफिक प्रहरी आफैँले यसरी चोरीका मोटरसाइकल तथा दुइ नम्बरी सवारी साधनको प्रयोग गर्नुलाई नागरिकले चासोका साथ हेरेका छन् ।
आफुलाई दवंग प्रहरी निरिक्षकको रुपमा चिनाउन खोज्ने प्रहरी निरिक्षक थापाको यो हर्कतले लालबन्दीबासी हैरान भएका छन् । प्रहरी निरिक्षक थापाको घुमुवा आतंक, असुली आतंक, आफ्नो कार्यालयका कर्माचारीहरुलाई गर्ने व्यावहार लगायतका विषयमा चौतर्फि गुनासो र चासो उठ्न सुरु गरेको छ ।