एकीकृत नेपालको उद्गम स्थल गोरखाका राजा राम शाह (बि.स. १६६३-१६९० सम्म) की रानी महिमाबती (लिलाबती) साक्षात् देबी थिइन् । उनी देबी भएको कुरा त्यतिबेला गोरखनाथ बाबालाई मात्रै जानकारी थियो । गोरखा दरबारमा रानीलाई एक जना सेवकको आबश्यकता परेपछि असल सेबक खोजी गरि ल्याउने जिम्मा गोरखनाथ बाबालाई दिइयो।
लखन थापा र गोरखनाथको पहिलोपटक भेट भएको भ्यागुता आकारको ठूलो शिला( हालको नाम: गोरखनाथ गुफा)
सेबकको खोजीमा गएका गोरखनाथ बाबा र लखन थापा मगरविच हालको शहिद लखन गाउँपालिका वडा नं २, मनकामना स्थित बक्रेश्वर जंगलको एउटा ठूलो शिलामा भेट भयो । भनिन्छ गोखनाथ बाबाले त्यो शिलालाई भ्यागुतीको रूप प्रदान गरेर दूध दोहेर खिर पकाई लखन थापालाई खुवाउनुभयो ।
भोलिपल्ट देखि केही दिनसम्म गोरखनाथ बाबाले लखन थापालाई हालको शहिद लखन गाउँपालिकाको वडा नं १ बक्राङ्ग स्थित ठूलो शिला (हाल सिद्ध लखन थापा बैठक भनिने शिला) मा दर्शन दिनुभयो र लखन थापालाई तन्त्रमन्त्र आदिबाट दिक्षित गराई सिद्धता प्रदान गराउनुभयो ।
गोरखनाथले लखन थापालाई सिद्धता प्रदान गर्नु भएको ठूलो शिला (हालको नाम: लखन थापा बैठक शिला)
यसपछि उनी गोरखादरबारमा रानीको सेबक बने । रानी साक्षात् देबी रहेको कुरा गोरखनाथ र सिद्ध लखनलाई मात्र थाहा थियो । पछि सो कुरा राम शाहलाई पनि जानकारी भयो । रानी देबी रहेको जानकारी पाएको छोटो समयमा नै राम शाहको मृत्यु भयो । उनको अन्त्यष्टि दरौँदी र मर्स्याङ्दी नदीको दोभान( हाल राम शाह घाटको नामले चिनिने तनहूँको आँबुखैरेनी देखि गोरखा जाने बाटोमा रहेको स्थान) मा गर्ने तयारी भयो । त्यतिबेलाका प्रचलन अनुसार रानी सती जान तयार हुँदै गर्दा उनका सेबक लखन थापाले बिह्वल भइ अब मैले कस्को सेवा गरेर बस्नु भनी रानी सामु अलापबिलाप गरे ।
त्यतिबेला रानीले सिद्ध लखन थापालाई सम्झाउँदै भनेका थिए,' पिर नगर्नु, म कफ्याक( हाल मनकामना मन्दिर भएको ठाउँ) मा सबैको मनको इच्छा पूरा गरिदिने देबीको रुपमा प्रकट हुनेछु। तिमीले त्यहीँ पूजापाठ गरेर मेरो सेवा गर्नु' भनी रानी सती जानू भयो।
भनिन्छ रानी सती गएको केही समय पछि कफ्याकमा स्थानीय किसान धनध्वज गुरुङ्गले बारी जोत्दा एउटा शिलामा हलोको फालीले चोट लगाएको ठाउँबाट दूध र रगत बग्यो । त्यो जानकारी पाएपछि सिद्ध लखन थापाले रानी देबीको रुपमा उत्पत्ति भएको विश्वाश गरि तान्त्रिक बिधिबाट पूजा गरे । त्यसपछि देबी शान्त भइ उक्त शिलाबाट दूध र रगत बग्न छाड्यो ।
त्यसपछि लखन थापाले उक्त स्थानमा थान बनाई पूजा पाठ आरम्भ गरे । यसरी लखन थापा मनकामनाको पहिलो पुजारी बने । त्यतिबेला मनकामना लाई सबैको आमाको रुपमा मोई थान (पछि माई थान भनिएको ) भनिन्थ्यो । मगर भाषामा मोइको अर्थ आमा भन्ने हुन्छ । त्यसैले आदिबासी मगरहरुको भूमिमा उत्पन्न भएको र मगर पुजारीले पूजा आरम्भ गरेको यस पवित्र स्थल मोइ थानलाई आजभोली सबैको मनको इच्छा पूरा गरिदिने 'मनकामना माई' को रुपमा पुज्ने गरिन्छ।
जीवनकाल भरी अबिबाहित रहेका लखन सिद्ध लखन थापा मगर वृद्ध अबस्थामा पूजापाठ र पुजारीको जिम्मेवारी दाजुभाइका सन्तानलाई प्रदान गरेर तीर्थ गर्न चार धाम (काशी) गए । बृद्ध भैसकेका लखन थापा लामो समय सम्म घर नफर्केकाले उनको मृत्यु भएको हुन सक्ने अनुमान गरी घर परिवारले काजक्रिया गरे । काजक्रियाको काममा माइती आएका चेलीबेटी (दिदी बहिनी) घर फर्कँदा गाउँ नजिकैको तिउरे भन्ज्याङ्ग भन्ने ठाउँमा लखन थापासँग जम्काभेट भयो । आफ्नो काजक्रिया भएको सुनेर लखन थापा दुखी भइ आफ्नो घरमा नगई त्यहीँबाट उकालो लागे । उनी बक्रेश्वरीको जंगल हुँदै माथि तिर गए।
सिद्ध लखनले चेलीबेटी भेटेको स्थान: तिउरे भञ्ज्याङ्ग
त्यतिबेला वृद्ध अबस्थाका लखन थापाले भिमसेनपातीको लौरो(लठ्ठी) टेकेको र त्यो लौरो बक्रेश्वरी जंगलको माथिल्लो भागमा रहेको एउटा गुफा बाहिर गाडेको अबस्थामा भेटिएको हुनाले लखन थापा त्यही गुफा भित्र अलप भएको विश्वाश गरिन्छ । हाल त्यस गुफालाई सिद्ध लखन गुफाको नामले चिनिन्छ । लखन थापाले सिद्धता प्राप्त गरेको ठूलो शिला नजिकै उनी अलप भएको बिश्वास गरिएको सिद्ध गुफा रहेको छ । आफ्ना पूर्बज सिद्ध लखन अलप भएको बिश्वासमा मनकामना माईका पुजारी सन्तान ( ल्हायो) मगरहरुले आजभोली उक्त ठाउँमा कूलपूजा गर्ने गर्दछन् ।
सिद्ध लखन अलप भएको गुफा
भनिन्छ सिद्ध लखन थापा चामत्कारिक क्षमताका थिए। त्यसैले उनी एउटै घडी, पला र समय ( मिति) मा एकैपटक एकभन्दा बढी ठाउँमा उपस्थित हुन सक्थे । गोरखाको सभामा उपस्थित रहेकै समयमा काशीमा डुङ्गा दुर्घटना भएकाले त्यहाँ उद्धार गर्न पुगेको, पाल्पा दरबारमा नाच हुन लाग्दा नर्तकीको कपडा फुस्किएको कुरा गोरखा बसेरै पत्ता लगाएको जस्ता बिषय बुझ्दा सही सत्य साबित भएको प्रसंग गोरखा बंशावलीमा उल्लेख गरिएको छ। हाल मोइ थान वा हालको मनकामना माई का पुजारी उनकै दरसन्तान इन्सान थापा मगर हुनुहुन्छ । उहाँ सिद्ध लखनको एक्काइसौँ पुस्ताका रहेको मानिन्छ ।
मोइ थान ( मनकामना माई) का हालका पुजारी इन्सान थापा मगर ( दायाँबाट तेस्रो)