कुरिनटार, १ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब ३:२२ बजे काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि एक्कासि ढुङ्गा खसेको थियो। ढुङ्गाले लागेर मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो ४:४९ बजे मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।