राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले कांग्रेस र एमाले परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको नियतमाथि प्रश्न उठाएकी छन् । ठेक्का–पट्टा र कमिसनको स्वार्थमा रास्वपा प्रवेश गरेको आरोप लगाउँदै उनले पार्टीका पुराना सदस्यलाई विस्थापित गर्न खोजिएको टिप्पणी गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले नवप्रवेशी सदस्यले आगामी स्थानीय तह निर्वाचनका लागि मनलाग्दी रुपमा मेयरको उम्मेदवार घोषणा गर्दै हिँडेको उल्लेख गरेकी छन् । पार्टीका पुराना र इमानदार सदस्यलाई पाखा लगाएर पदको दाबी गर्ने प्रवृत्ति देखेर आफू छक्क परेको उनको भनाइ छ ।
पार्टी सभापतिले नै सार्वजनिक मञ्चबाट स्थानिय चुनावमा उम्मेदवारको खडेरी परेकोले एक ढिक्का हुन आह्वान गरिरहदा झापाकी माननीयको यस्तो प्रतिक्रिया आएको हो ।
'ठेक्का पट्टा र कमिसन हत्याउन कांग्रेस एमाले परित्याग गरी हतार हतार रास्वपामा प्रवेश गरी रास्वपाका पुराना र इमानदार सदस्यहरूलाई विस्थापित गरी आफूलाई अबको स्थानीय तहको मेयर त मै हुँ नि भनी घोषणा गर्दै हिँड्ने एक दुईजना साथीहरू देखेर छक्क परियो,' उनले लेखेकी छन् ।
नयाँ सदस्यको नियत र विगतमाथि प्रश्न उठाएकी सङ्ग्रौलाको आफ्नै विगत भने कम विवादित छैन । २०७८ सालमा खुश्बु घिमिरेमाथि कुटपिटको आरोपमा उनी पक्राउ परेकी थिइन् । त्यतिबेला ट्राफिक प्रहरी मणिकान्त झासँगको विवाद र रङ्गभेदी अभिव्यक्तिको आरोपले पनि उनी चर्चामा आइन् ।
यिनै मुद्दा अनुसन्धान गर्नेक्रममा सङ्ग्रौलाले सरकारी कागजात किर्ते गरेको विषय पनि बाहिर आयो । त्यसपछि उक्त मुद्दामा पनि मुछिन पुगिन् । रवि लामिछानेको थुनासम्बन्धी अदालती आदेशपछि न्यायालयतर्फ लक्षित अभिव्यक्तिका कारण उनीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दासमेत दर्ता भएको थियो ।