भरतपुर। भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो।
५०० बेडको स्वीकृति आएको ३–४ वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी सिर्जना नभएकाले बाँकी जनशक्ति अस्पताल विकास समिति मार्फत व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ। हाल ५०० बेडको स्वीकृतिप्राप्त अस्पताल भए पनि संरचनागत रूपमा १०० बेडको मात्र दरबन्दी सञ्चालनमा रहेको र त्यो पनि पर्याप्त नभएको डा बगालेले स्पष्ट पारे।
अस्पतालमा हुने अत्यधिक भिडभाडलाई कम गर्न र सेवाग्राहीलाई सहजता प्रदान गर्न प्रविधिको प्रयोगलाई तीब्र पारिएको छ। हाल नेपालमै सबैभन्दा बढी अनलाइन टिकट काट्ने अस्पतालहरूको रूपमा भरतपुर अस्पताल रहेको उनले दाबी गरे। दैनिक ३०० देखि ४०० जनासम्मले अनलाइनमार्फत टिकट लिने तथा भुक्तानी गर्ने गरेको र यसले गर्दा लामो लाइन बस्नुपर्ने झन्झट घटेको छ। साथै, बिरामीहरूले आफ्ना रिपोर्टहरू मोबाइलबाटै हेर्न र मेसिनमार्फत प्रिन्ट लिन सक्ने व्यवस्थालाई थप व्यवस्थित बनाइएको छ।