बागलुङ । जिल्लास्थित सुनौलो बागलुङ सामाजिक संस्थाले देउसीभैलो खेलेर सङ्कलित रकम क्यान्सर पीडित तथा दुर्घटनाका घाइतेलाई प्रदान गरेको छ । संस्थाले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु एक लाख ५५ हजार रकम क्यान्सर पीडित तथा दुर्घटनाबाट प्रभावित पाँच परिवारका सदस्यलाई प्रदान गरिएको संस्थाका अध्यक्ष दिलीप प्रतेलले जानकारी दिनुभयो ।
बरेङ गाउँपालिका–१ की सवारी दुर्घटना प्रभावित कुमारी पुनलाई रु ३० हजार, जैमिनी नगरपालिका–३ पौडेलबारीका बोनम्यारो क्यान्सरपीडित टेकबहादुर विकलाई रु ३० हजार र सोही वडाका प्यारालाइसिस पीडित दिलबहादुर छन्त्याललाई रु २० हजार सहयोग गरिएको अध्यक्ष प्रतेलले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिका–१० का सवारी दुर्घटनामा परी प्यारालाइसिसबाट प्रभावित एकै परिवारका कृष्णबहादुर घर्ती र धनकली घर्तीलाई रु ३५ हजार सहयोग गरिएको छ । अध्यक्ष प्रतेलले देउसीभैलोको रकम परोपरकारी क्षेत्रमा खर्च गर्दै आएको बताउदै हाल रु एक लाख रकम संस्थाको खातामा रहेकाले आर्थिक रुपमा दुःख तथा पीडामा परेकालाई खर्च गर्ने बताउनुभयो ।