काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद रु २० हजार २०० र एउटा मोटरसाइकलसमेत बरामद भएको छ ।
झापाको झापा गाउँपालिका–५ खयरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ एक ग्राम ९५ मिलिग्रामसहित बाह्रदशी गाउँपालिका–२ का २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका–१ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट नियन्त्रित लागुऔषध डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई पक्राउ गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ १२७ मिलिग्रामसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन् । यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकल पनि बरामद प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङको बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०÷१० एम्पुलसहित बेँसीसहर नगरपालिका–८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेका हुन् ।
सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका हुन् । बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका हुन् ।