काठमाडौं । अब नागरिकताको प्रमाणपत्र हराएमा, झुत्रो भएमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा आफ्नो जिल्ला बाहिरबाटै पनि सेवा लिन सकिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली २०८३ बमोजिम अन्य जिल्लाका नागरिकले पनि तोकिएका जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने जनाएको हो ।

गृह मन्त्रालयको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सहज सेवा उपलब्ध गराउन प्रदेशअनुसार सेवा प्रवाहको व्यवस्था मिलाइएको छ। जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्। त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेस प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्।
नागरिकताको प्रतिलिपि लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको हकमा नागरिकता प्रमाणपत्रको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको विवरणसँग मेल खाएमा प्रतिलिपि जारी गरिने सूचनामा उल्लेख छ।
तर अभिलेख नभेटिएमा वा अभिलेखमा रहेको नाम, थर, घर, जन्ममिति लगायतका विवरण साविकको नागरिकतासँग फरक परेमा सच्याएर प्रतिलिपि लिन चाहने तथा पहिलो दृष्टिमै नागरिकताको प्रमाणपत्र शङ्कास्पद देखिएका आवेदकलाई भने नागरिकता प्राप्त गरेको साविककै जिल्लामा सम्पर्क गर्न आग्रह गरिएको छ।