काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार मङ्गलबार कोशी, मधेस, बागमती र गण्डकीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । सो अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
बुधबारदेखि शुक्रबारसम्म पनि देशका हिमाली तथा पहाडी भूभागमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले मौसमसम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई मौसमको अद्यावधिक सूचना लिएर आवश्यक तयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।