तमु लम परिवार यूकेको निमन्त्रणामा गायिका पवित्रा गुरुङ बेलायत पुगेकी छन् । परिवारको पहिलो वार्षिक भेटघाट कार्यक्रममा प्रस्तुति दिन उनी बुधबार लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएकी हुन् । तमु लम परिवार यूकेले आगामी १० अक्टोबर (२४ असोज, शनिबार) अल्डरशटस्थित एम्पायर हलमा पहिलो वार्षिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दैछ । यूकेको समयअनुसार कार्यक्रम दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
हिथ्रो विमानस्थलमा पवित्रालाई तमु लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, पदाधिकारी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, समाजसेवी ओमेन्द्र गुरुङलगायतले स्वागत गरे ।
पवित्राले आफू तेस्रोपटक बेलायत आएको बताउँदै स्वागतका लागि उपस्थित सबैलाई धन्यवाद दिइन् । उनले अक्टोबर १० मा हुने तमु लम परिवार यूकेको भेटघाट कार्यक्रममा बेलायतमा रहेका नेपालीलाई सहभागी हुन आग्रह गरिन् ।
कार्यक्रममा अर्की गायिका प्रिया गुरुङको पनि प्रस्तुति रहनेछ । उनी सांगीतिक कार्यक्रमका लागि यसअघि नै बेलायतमा छिन् ।
तमु लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङले बेलायतमा रहेका परिवारजनबीच आपसी भेटघाट, सम्बन्ध र एकतालाई थप बलियो बनाउन वार्षिक भेटघाट आयोजना गरिएको बताए । कार्यक्रममा आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, छोरी–चेली, ज्वाइँ तथा छोरा–छोरीसहित परिवारका सबै सदस्यलाई सहभागी हुन उनले आग्रह गरे ।
तमु लम परिवार यूकेले बेलायतमा रहेका परिवारजनबीचको आपसी सम्बन्ध, भाइचारा र एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ । आयोजकले पहिलो वार्षिक भेटघाटलाई आत्मीय र स्मरणीय बनाउन परिवारसहित सहभागी हुन आग्रह गरेको छ ।