धादिङ । गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक मर्मतसम्भारका लागि आज पाँच घण्टा बन्द भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा आवश्यक मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
सडक बन्द रहने समयमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य उपलब्ध वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।