नारायणगढ (चितवन)। सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले चितवन क्षेत्र नं १ का आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको हो ।
चालु आर्थिक वर्षमा सञ्चालन हुने नयाँ आयोजना तथा कार्यक्रमका लागि आवश्यक तयारी र सम्भावित कार्यस्थलको समेत स्थलगत अवलोकन गरी योजनालाई समयमै कार्यान्वयनमा लैजाने,गुणस्तरीय र परिणाममुखी बनाउने विषयमा सम्बन्धित निकाय तथा मन्त्रालयसँग आवश्यक समन्वय र पहल गरिने सभापति ढकालले बताउनुभयो ।
स्थलगत अनुगमन टोलीमा जिल्लास्थित सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा नारायणी तटबन्धन कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागिता थियो ।
सभापति ढकालले भन्नुभयो, “सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा तटबन्धनलगायतका क्षेत्रमा भइरहेका र आगामी योजनालाई समयमै, गुणस्तरीय र परिणाममुखी रूपमा अघि बढाउने विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिरहेका छौँ ।”यसैबीच, सभापति ढकालले केही दिनअघि जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनका विषयमा छलफल गर्नुभएको थियो ।
विकास निर्माणका आयोजना तथा कार्यक्रम तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न तथा जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर बजेटको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निरन्तर पहल गरिने उहाँले बताउनुभयो । रासस