काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीमा 'बोलबम' धार्मिक यात्राका क्रममा भएको आक्रमण र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर सरकारको कडा आलोचना गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तारूढ दलले जारी गरेको प्रेस विज्ञप्तिमा घटनालाई 'संवेदनशील र दुःखद' भनिए पनि घटनाको विस्तृत विवरण र पृष्ठभूमिबारे मौन बसेकोमा आपत्ति जनाइन्। राजनीतिक दलले घटनाको स्वरूप नै स्पष्ट पार्न नसक्दा जनताले सरकारको छानबिन प्रक्रियामाथि कसरी विश्वास गर्ने भनी उनले प्रश्न गरिन्।
ओलीले सुनसरी घटनामा भएको प्रहरीको गोली प्रहार र त्यसपछि आएका विरोधाभासपूर्ण अभिव्यक्तिको विषयलाई संसद्मा रूपमा उठाइन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रहरीले गोली चलाएको स्वीकार गरे पनि त्यसको आदेश कसले दियो भन्ने कुरा स्पष्ट नभएको उनले बताइन्।
एकातिर स्थानीय मेयरले विद्युत् लाइन काटिएपछि गोली चलेको बताउनु, अर्कोतिर प्रमुख जिल्ला अधिकारीले गोली चलाउने अनुमति नदिएको भन्नु र प्रहरीले हवाई फायर मात्र गरेको दाबी गर्नुले घटनालाई रहस्यमय बनाएको उनको तर्क थियो। यस्तो अन्योलपूर्ण अवस्थाले जनतामा अविश्वास पैदा गर्ने भन्दै उनले उच्च स्तरीय आयोगमार्फत 'फास्ट ट्र्याक' बाट निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।
प्रत्येक नेपालीले आफ्नो धर्म र संस्कृतिको अभ्यास निर्भयपूर्वक गर्न पाउने वातावरण सुनिश्चित गर्नु राज्यको अनिवार्य दायित्व भएको बताउँदै उनले प्रधानमन्त्रीलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरिन्। उनले सदियौँदेखिको सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सरकार र नागरिक दुवै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन्।