Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

इच्छाकामना न्युज

८, श्रावण २०८३
विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

काठमाडौं।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि वामपन्थी शक्तिहरूको आवश्यकता अझ बढी महसुस गरिएको बताएका छन् ।

images
४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशभक्त, लोकतन्त्रवादी,गणतन्त्र पक्षधर तथा संविधानका समर्थक सबैको आशा वामपन्थी शक्तिमाथि रहेको बताए । उनले भने,‘नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । आजको समयमा पनि वामपन्थी शक्तिहरूको भूमिकाको आवश्यकता सबैतिर बोध भएको छ । देशभक्त शक्तिहरूले पनि वामपन्थीहरुतिरै आशावादी नजरले हेरिरहेका छन् ।
 
लोकतन्त्रवादी शक्तिहरूले पनि, गणतन्त्रका हिमायतीहरूले पनि, संविधानका पक्षपोषकहरूले पनि वामपन्थीहरुतिर नै नजर घुमाइरहेका छन् । आमजनताको पक्षमा आवाज बुलन्द होस् भन्ने अपेक्षा वामपन्थीहरूबाटै गरेका छन् । नेपालले अरूलाई मात्र दोषारोपण गरेर समस्या समाधान नहुने उल्लेख गर्दै वामपन्थी शक्तिले आफ्नै कमजोरीको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कहाँ कहाँ चुक्यौं सोचहरूमा, नीतिहरूमा गतिविधिहरूमा यसको समिक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘अरूलाई आरोप मात्र लगाएर पुग्दैन । कहाँ हामी चुक्यौं, यसको समीक्षा गर्नुपर्छ । हाम्रा सोचहरूमा, नीतिहरूमा, गतिविधिहरूमा, व्यवहारहरूमा, जीवनशैलीहरूमा कहाँ–कहाँ त्रुटि रहे, सबैको पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ । खुला मनले बसेर छलफल गरौं ।’

उनले विभिन्न समयमा अवलम्बन गरिएका नीतिहरूको समेत समीक्षा गर्न आवश्यक रहेको बताए । नेपालले शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने मानसिकता त्याग्नुपर्ने धारणा राख्दै राष्ट्रिय हितका विषयमा दृढतापूर्वक आवाज उठाउन सकिने बताए ।

उनले भने, ‘शासनसत्तामा आउनेबित्तिकै विदेशीका सामु झुक्नैपर्छ भन्ने हुँदैन, आवश्यक छैन । दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ । आवाज बुलन्द गर्नेबित्तिकै युद्ध नै भइहाल्छ भन्ने हुँदैन । हाम्रो देशको हितको कुरा राख्नेबित्तिकै समुद्र टुटिहाल्दैन ।’

नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका विषयमा विश्वका विभिन्न अनुभवबाट सिकेर अघि बढ्नुपर्ने उल्लेख गर्दै अनावश्यक रूपमा विदेशीलाई खुसी पार्ने प्रवृत्तिले गलत निर्णयहरू स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । उनले विदेशी स्वार्थप्रति सचेत रहन आग्रह गर्दै राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध कसरी कायम गर्नुपर्छ भन्ने बारेमा संसारका धेरै अनुभवहरू छन्। ती अनुभवहरूबाट शिक्षा लिएर पनि हामी अगाडि जान सक्छौं। अनायासै विदेशीहरूलाई खुसी पार्ने काममा पनि लाग्न पुगेका छौं । फलस्वरूप कतिपय गलत कुराहरूलाई पनि स्वीकार गर्ने काम गरेका छौं । विदेशीहरूको स्वार्थलाई बुझेर त्यसप्रति सतर्क रहँदै अवलम्बन गरेका राम्रा कामलाई राम्रो भन्न सक्नुपर्छ ।’

 

images
प्रकाशित मिति :श्रावण ८, २०८३ शुक्रवार - १६:४७:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology