काठमाडौं। नेकपा (एमाले)का सांसद राजेन्द्र कुमार राईले करार तथा अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन सरकारसँग आग्रह गरेका छन्।
उनले भने, ‘अहिलेको सरकारलाई म सभामुखमार्फत निवेदन गर्न चाहन्छु, उहाँहरूलाई निकाल्नु हुँदैन। उहाँहरूको जीवन यही ठाउँमा बितेको छ। थुप्रै मानिसहरू रोजगारीको खोजीमा विदेश गइरहेको बेला यहीँ रोजगारी पाइरहेका दाजुभाइलाई नै निकाल्न थाल्यौं भने परिस्थिति झन् जटिल बन्छ।’
उनले विगतमा पर्याप्त तयारीबिनै सुकुम्बासी हटाउँदा समस्या उत्पन्न भएको उदाहरण दिँदै अस्थायी कर्मचारी हटाउने निर्णयले पनि त्यस्तै जटिल अवस्था निम्त्याउन सक्ने चेतावनी दिए। ‘हिजो बिना तयारी सुकुम्बासीहरूलाई हटाइएको कारण अहिले ठूलो समस्या बनेको छ। त्यो समस्या समाधान गर्न सरकारलाई धौधौ परिरहेको छ। त्यसैगरी अस्थायी कर्मचारीलाई निकाल्यौं भने झन् जटिल समस्या सिर्जना हुन्छ,’ उनले भने।