कुरिनटार । इच्छाकामना गाउँपालिकालाई आर्थिकरुपमा बलियो बनाउनका लागि आन्तरिक पर्यटन प्रवर्द्धनलाई थप जोड दिनुपर्ने सुझाव दिइएको छ । मङ्गलबार सम्पन्न सार्वजनिक सुनुवाइका क्रममा स्थानीयले गाउँपालिकालाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनका लागि भौतिक विकास मात्र नभई पर्यटन प्रवर्द्धनतर्फ ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।
इच्छाकामना मन्दिर, जलविरे झरना, उपरदाङगढी, मनकामना केबलकारजस्ता देशकै प्रख्यात धार्मिक क्षेत्रसँगै प्रचारमा नआएका धार्मिक पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिन आवश्यक रहेको स्थानीय पत्रकारसमेत रहेका रोहिणीप्रसाद त्रिपाठीले सुझाव दिए । ‘हामीले हाम्रो पालिकाभित्र भएका धार्मिक पर्यटकीय क्षेत्रलाई यहीँ बसेर बेच्न सक्नुपर्छ’, उनले भने, ‘भौतिक विकासले तत्काल आर्थिक समृद्धि देखिँदैन, तर धार्मिक पर्यटकीय गन्तव्यको विकासमा काम गर्ने हो भने तत्काल प्रतिफल पाइन्छ ।’
धार्मिक पर्यटकीय क्षेत्रको महत्त्वसहित विकास गर्न सके इच्छाकामनालाई कृषि उपजसँगै फूलखेती र बिक्रीवितरणमा समेत टेवा पुग्ने उनको बुझाइ छ । ‘धार्मिक पर्यटकीय गन्तव्यमा आउने आगन्तुकलाई फूल, प्रसाद त चाहिन्छ’, उनले भने, ‘त्यसकारण धार्मिक पर्यटकीय गन्तव्यको विकासमा योगदान दिन सके फूल, प्रसादको व्यवसाय पनि फस्टाउन सक्छ ।’
नेकपा एमालेको इच्छाकामना गाउँ कमिटीका अध्यक्ष प्रकाश अधिकारीले पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा योजनाबद्धरुपमा काम गर्नुपर्ने सुझाव दिए । ‘अहिलेसम्म ती क्षेत्रको विकास र प्रवद्र्धनमा जति काम भए त्यसप्रति पालिकावासी खुसी छौँ, तर गर्नुपर्ने काम अझै बाँकी छ’, उनले भने, ‘दिगो योजना बनाएर त्यस्ता स्थानको पहिचान गरी प्रवर्द्धन र आवश्यक विकास गर्नुपर्छ ।’ उनले गाउँपालिकाको नाममा देखिँदै आएको बेरूजु रकमलाई हटाउन प्रयास गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका प्रतिनिधि वासुदेव सिलवालले पालिकाको बेरूजु रकमलाई शून्य बनाउने विषयमा ध्यान दिनुपर्ने बताउँदै गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीमाथि निगरानी बढाउन आवश्यक रहेको सुझाव दिए । ‘अनुदानमा बाख्राको पाठापाठी वितरण गर्ने, खोर निर्माण गर्ने, सुन्तला र कागतीका बिरूवा वितरण गर्नेजस्ता कार्यक्रम राम्रो छ, तर वितरण गर्दैमा राम्रो हुने त होइन’, उनले भने, ‘त्यसकारण गाउँपालिकाले त्यसमा कत्तिको अनुगमन गरेको छ, निगरानी कत्तिको गरेको छ भन्ने विषय प्रमुख हो ।’
पालिकाले गरेको लगानीबाट प्रतिफल आएको छ कि छैन भन्ने कुरामा पनि पालिकाका जिम्मेवार व्यक्तिहरुले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । सिलवालले केही समयअघि पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि भएको आक्रमणमा समेत आशङ्का व्यक्त गरे ।
पालिकाभित्रै त्यहीमाथि कार्यकक्षमै पालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार हुँदा पनि पालिकाले खटाएको सुरक्षाकर्मीले जिम्मेवारी निभाउन किन सकेनन् ? पालिकाको आडैमा रहेको प्रहरीलाई खबर किन गरिएन ? जस्ता प्रश्नले गाउँपालिकामाथि प्रश्न उठाएको उनले बताए । ‘यो घटना कतै पालिकाकै जिम्मेवार व्यक्तिहरुको संरक्षणमै भएको त होइन ?’ भन्ने प्रश्न गर्दै उनले भने, ‘कार्यकक्षमै घटना हुँदा न सिसी क्यामेरा छ, दुर्व्यवहार गर्ने व्यक्तिहरु खुलेआम पालिकाबाट बाहिरिनुजस्ता विषय शङ्काको घेरामा छ ।’
उठेका प्रश्नमाथि उत्तर दिँदै गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले भने कृषि अनुदानमा कतै पनि दुरूपयोग नभएको दाबी गरेका छन् । अनुदानमा वितरण भएका कृषि क्षेत्रमा आवश्यकताअनुसार अनुगमन भइरहेको बताउँदै उनले भने, ‘हाम्रा किसानले राम्रोसँग आर्थिक लाभ लिइरहनुभएको छ । खसीबोकाको उत्पादनबाट धेरथोर आर्थिक लाभ भैरहेको छ, सुन्तलाको प्रतिफल आउन बाँकी छ ।’
उनका अनुसार यो कार्यकालमा करिब ६०० को हाराहारीमा बाख्राको खोर निर्माण भएका छन् । ती खोरमा हाल करिब एक लाखको हाराहारीमा बाख्रा रहेको उनले बताए । सोही अवधिमा करिब एक लाख सुन्तलाका बिरूवा वितरण भइसकेको उनले बताए । ‘त्यसले उत्पादन दिन थाल्यो भने एक मौसममै गाउँपालिकाबाट करिब १५ करोडको सुन्तला कारोबार हुने लक्ष्य लिएका छौँ’, उनले भने, ‘त्यसकारण पुराना बगैँचा मासिँदै गए पनि नयाँ बगैँचा थपिँदै गएका छन् ।’
पालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथिको दुर्व्यवहार आकस्मिक घटना भएको बताउँदै त्यसमा पालिकाले कुनै पनि कोणबाट पीडकलाई संरक्षण नगरेको उनले दाबी गरे । घटनामा संलग्न व्यक्तिहरुमाथि कानुनी कारबाहीको प्रक्रिया सुरू भइसकेको हुँदा उनीहरुलाई कानुनअनुसार कारबाही हुनेमा आफूहरु ढुक्क रहेको उनले बताए । ‘हामी गलत छैनौँ, नियमसम्मत काम गर्दा हामीमाथि आक्रमण भएको हो’, उनले भने, ‘त्यसकारण कानुनअनुसार उनीहरु कारबाहीको भागीदार हुनेछन्, त्यसमा कुनै शङ्का मान्न पर्दैन ।’