रोशन तिवारी, पर्वत, २९ फागुन । पर्वतको पैयुँ गाउँपालिका विगत दुई महिना यता निमित्तको भरमा चलिरहेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक काम वाहेक अन्य कामहरु ठप्प प्राय छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा लेखा अधिकृत सरोज पराजुलीले प्रशासनिक कामकाज चलाईरहनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रहेका नेत्रप्रसाद पौडेल उपसचिवमा बढुवा भई कन्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भई गएपछि पैयुँ गाउँपालिका निमित्तको भरमा चलेको हो । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोवार, नीतिगत निर्णय तथा अन्य दैनिक प्रशासनिक कामकाजहरुमा समस्या भएको बताउनुभयो । आर्थिक वर्ष अन्तिम तिर आउँदै गर्दा धेरै विकास निर्माणका कामहरु शुरु गर्नुपर्ने र उपभोक्ता समितिले गरेका काममा आर्थिक भुक्तानी दिनुपर्ने कार्य रोकिएको बताउनुभयो ।
गाउँपालिका हाकिमविहिन हुँदा दुई महिनादेखि कर्मचारीले तलव समेत पाएका छैनन । प्रमुख प्रशासकीय अधिकृत माग गरि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पुगेपनि अहिले सम्म कसैलाई नपठाएको अध्यक्ष तिवारीले गुनासो गर्नुभयो ।
गाउँपालिकाले चालु वर्ष प्रशासनिक भवन, २ वटा वडाको भवन निर्माण गर्ने र कोभिड अस्पताल निर्माण गर्ने, विभिन्न खाले ऐन तथा नियमावली जारी गर्ने र विकास निर्माणका काम गर्ने लक्ष्य राखेको छ । नयाँ कामको सुरुवात गर्न सम्झौता गर्ने र मुल्यांकन गर्ने कार्य पनि ठप्प रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा अलमल रहेको तिवारीले बताउनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोज पराजुलीले आफुलाई आर्थिक अख्तियारी नहुँदा आर्थिक कारोवारका काम सबै रोकिएको जानकारी दिनुभयो । उहाँले दैनिक प्रसासन चलाउने र कार्यपालिकाका बैठक बसाल्ने बाहेक अन्य काम गर्न नसकेको बताउनुभयो ।