Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्ये ल्हु संघ चितवनले २२औँ स्थापना दिवस मनायो, दुई जना सम्मानित

प्ये ल्हु संघ चितवनले २२औँ स्थापना दिवस मनायो, दुई जना सम्मानित

इच्छाकामना न्युज

२५, माघ २०८२
प्ये ल्हु संघ चितवनले २२औँ स्थापना दिवस मनायो, दुई जना सम्मानित
images

भरतपुर । मानवशास्त्री डा. टेकबहादुर गुरूङले गुरूङ समुदायको भाषा, संस्कार, संस्कृति जोगाउनका लागि ज्ञान बाँड्न आवश्यक रहेको बताएका छन् । शनिबार तमू प्ये ल्हु संघ चितवनले २२औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘तमू जातिको उत्पत्ति, इतिहास, संस्कार र संस्कृतिबारे एक विवेचना’मा डा. गुरूङले भने, ‘हामीले हामीसँग भएका ज्ञान लुकाउने होइन फुकाउने हो, खुलाउने हो । सधैँ लुकाइराख्ने हो भने संरक्षण हुँदैन ।’

images
images

ज्ञानको भण्डार जति बाँड्यो त्यति नै बढ्छ भन्ने मान्यता राखेर खेगी, चोँगीहरुले काम गर्नुपर्ने उनको सुझाव छ । ‘विशेषगरी, हाम्रा खेगी गुरूङहरुले यस विषयमा मन फुकाउन आवश्यक छ’, उनले भने, ‘किनकि उहाँहरु नै हाम्रो समुदायको संस्कार, संस्कृति संरक्षणकर्ता हुनुहुन्छ । त्यसकारण जीवनको उत्तराद्र्धमा दिने होइन ।’

629946404_122229894170057604_7595932899670963144_n.jpg

यसलाई बेलैमा लिपिबद्ध गरेर दस्तावेजीकरण गर्न सके समयमै पुस्तान्तरण गराउन सकिने उनले बताए । उनले भाषाले गुरूङ जातिको पहिचान दिलाउने हुँदा भाषा संरक्षणमा सबैले आआफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने पनि सुझाव दिएका छन् । ‘भाषा हाम्रो ठाउँ र भेगअनुसार फरक छ । तर, ती सबैलाई हामीले हाम्रै भाषा मान्नुपर्छ’, उनी भन्छन्, ‘आफूले बोल्दै आएको भन्दा फरक तरिकाले अर्को ठाउँको गुरूङले बोल्छ भने त्यसलाई भाषा होइन, या मिलेन भन्न हुँदैन ।’

वरिष्ठ पत्रकार एवम् सार्वजनिक सेवा प्रसारण समितिकी सदस्य अनिता गुरूङले पनि भाषामा एकरुपता ल्याउनका लागि सबै ठाउँका गुरूङ एकतामा आउन आवश्यक रहेको बताइन् । एउटा डाँडा र एउटा खोलाले नै भाषामा प्रभाव पार्दै आएको हुँदा हरेक ठाउँमा बोलिने भाषालाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनले बताइन् ।

‘सबै ठाउँका गुरूङ एकै ठाउँमा उभिएर आआफ्नो क्षेत्रमा बोलिने भाषालाई सङ्कलन गरेर दस्तावेज बनाउँदा त्यसले गुरूङ भाषालाई थप फराकिलो पनि बनाउँछ’, उनी भन्छिन्, ‘त्यसो गर्दा एक ठाउँको भाषा अर्को ठाउँले पनि बुझ्ने मौका पाउँछ ।’

सबै क्षेत्रमा बोलिने भाषालाई सङ्ग्रहित गराउनुपर्ने बेला आएको उनको भनाइ छ । ‘जानु छ भन्दा हामी याल् परिम् भन्छौँ । तर, परिम् भनेको पर्छ भन्ने नेपाली शब्दबाटै प्रभावित भएको हो । त्यसकारण याल् तुम् भनिन्छ भनेर बुझ्न जरूरी छ’, उदाहरण दिँदै उनले भनिन् ।

तमू प्ये ल्हु संघ चितवनले मानवशास्त्री डा. टेकबहादुर गुरूङ र वरिष्ठ पत्रकार अनिता गुरूङलाई सम्मानसमेत गरेको थियो । गुरूङ समुदायको संस्थागत विकासमा लामो समयदेखि महत्त्वपूर्ण योगदान दिएको भन्दै गुरूङद्वयलाई सम्मान गरिएको हो । समुदायलाई माथि उकास्न चाहने व्यक्तिहरुलाई प्रोत्साहन दिलाउनका लागि सम्मान गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ २५, २०८२ आइतवार - १४:३३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology