आँबुखैरेनी (तनहुँ), १६ माघ — नेपाली कम्युनिष्ट पार्टीको चुनावी अभियानअन्तर्गत आँबुखैरेनी गाउँ समितीको विस्तारित बैठक बिहीबार सम्पन्न भएको छ। गाउँ पार्टी समितीका अध्यक्ष खगराज गौलीको अध्यक्षतामा सम्पन्न बैठकले १००१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति तथा ३०१ सदस्यीय युवा–विद्यार्थी परिचालन समिति गठन गरेको छ।
बैठकमा जनताका समसामयिक समस्या, विकास र परिवर्तनका मुद्दामा केन्द्रित भएर विस्तृत छलफल गरिएको थियो। छलफलपछि चुनावी अभियानलाई अझ प्रभावकारी, सशक्त र तीव्र बनाउँदै लैजाने निर्णय गरिएको छ। पार्टीले “जनताका कुरा सारा, यसपालि मत पाँचकुने तारा” भन्ने नारासहित घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ।
बैठकमा बोल्दै तनहुँ क्षेत्र नं. १ का उम्मेदवार विद्यानाथ ढकालले जनताको भरोसालाई आफ्नो मुख्य शक्ति भएको बताउनुभयो। उहाँले परिवर्तनका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको प्रतिनिधित्व गर्ने अवसर पाएमा विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्नुभयो।
यसैबीच, मिसन २०८२ फाल्गुन २१ – तारा जिताउने अभियानलाई सफल बनाउँदै तनहुँका जनताको प्रतिनिधित्व गर्ने नेता विद्यानाथ ढकाललाई अत्यधिक मतका साथ विजयी गराउने लक्ष्य लिइएको बैठकले निष्कर्ष निकालेको छ।