चितवन ।
चितवनका १ हजार ५ सयभन्दा बढी नागरिक विहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
चितवनको क्षेत्र नम्वर २ को सचिवालयमा आयोजित सदस्य भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई पार्टी सभापति रवि लामिछाने, सोबिता गौतम र हरी ढकालले स्वागत गरेका थिए। कार्यक्रममा २ हजार ५ सय भन्दा बढी नेता–कार्यकर्ता लगायत आम नागरिकहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै पार्टी सभापति रवि लामिछानेले उम्मेदवार छनोटमा गल्ती नगरे रास्वपाले आगामी निर्वाचनमा एक सिट पनि नहार्ने दाबी गरे। उनले चुनावपछि देशको भविष्य जनताले आफैं लेख्ने अवस्था सिर्जना हुने उल्लेख गरे।
लामिछानेले पुराना राजनीतिक दलहरूलाई प्रतिपक्षमै सीमित नराखी जनताले नयाँ राजनीतिक विकल्पलाई सशक्त बनाउने वातावरण तयार भइरहेको बताए। उनले सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिका लागि रास्वपा प्रतिबद्ध रहेको स्पष्ट पारे।