Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा घरेलु हिंसाका घटनामा वृद्धि

चितवनमा घरेलु हिंसाका घटनामा वृद्धि

इच्छाकामना न्युज

१०, मंसिर २०८२
चितवनमा घरेलु हिंसाका घटनामा वृद्धि
images

भरतपुर । चितवनमा घरेलु हिंसाका घटना दर्ता गर्ने क्रम बढ्दै गएको छ । गत पाँच आर्थिक वर्षको तथ्याङ्क केलाउँदा चितवन प्रहरीमा सबैभन्दा धेरै निवेदन दिने घरेलु हिंसाकै देखिन्छ ।

images
images

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मनीष श्रेष्ठका अनुसार प्रहरीले सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०८१/०८२ मा ५४२ वटा निवेदन घरेलु हिंसासम्बन्धी परेको थियो । त्यसमा लैङ्गिक हिंसासम्बन्धी ठाडो निवेदन ३२८ गरी उक्त आर्थिक वर्षभरिमा ८७० वटा उजुरी परेको थियो ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४९० वटा निवेदन र ४०४ वटा लैङ्गिक हिंसासम्बन्धी ठाडो निवेदन गरी ८९४ वटा उजुरी चितवन प्रहरीमा परेको देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा भने यो सङ्ख्या ३९५ वटा निवेदन र ३७५ वटा लैङ्गिक हिंसासम्बन्धी ठाडो निवेदन गरी ७७० वटा निवेदन दर्ता भएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा ४४३ वटा निवेदन र २८७ वटा लैङ्गिक हिंसासम्बन्धी ठाडो निवेदन गरी ७३० वटा परेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा भने जम्मा १५४ निवेदन र लैङ्गिक हिंसासम्बन्धी ३२३ वटा ठाडो निवेदन गरी ४७७ वटा परेको थियो । उनले पछिल्लो समय लैङ्गिक हिंसाभन्दा पनि मानसिक हिंसा बढ्दै गएको अनुभव सुनाए ।

तथ्याङ्क हेर्दा समाज जति विकसित हुँदै गयो त्यत्ति नै लैङ्गिक हिंसासम्बन्धी घटना भएको देखिन्छ । तर, प्रहरीको अनुसन्धानले भने समाज विकसित हुँदै जाँदा चेतनास्तरमा पनि विकास हुँदै गएकोले घटना बढ्दै गएजस्तो देखिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार हिजोका दिनमा हिंसा भए पनि उजुरी दिन आउने र आफूमाथि परेको समस्या लिएर प्रहरीसम्म आउने सङ्ख्या कम थियो । तर, आज समाजमा हिंसा सहनु हुँदैन भन्ने विषयमा मानिसहरु चनाखो हुन थालेका छन् ।

‘आफूमाथि समस्या परेमा अथवा कसैले हिंसा गरेको महसुस भएमा प्रहरीसम्म आइपुग्ने गरेको देखिन्छ’, पुरी भन्छन्, ‘त्यसकारण समाज चेतनशील बन्दै जाँदा घटनामा पनि वृद्धि भएको जस्तो देखिएको हो ।’ चितवन प्रहरीले समाजलाई सुरक्षासँगै विकसित गराउन चौबिसै घन्टा सेवा दिइरहेको पनि एसपी पुरीले बताए ।

मनोविमर्शकर्ता पार्वती पाण्डेले हिंसामा परेर पनि सहेर बस्नेहरुको जमात अझै उत्तिकै रहेको बताइन् । भविष्य तथा घरबार बिग्रने डर, आर्थिक परनिर्भरता, गोपनीयता भङ्ग हुने, असुरक्षित, आत्मविश्वासमा कमी, हिंसाप्रभावितलाई नै दोषी ठान्ने सामाजिक प्रवृत्तिजस्ता कारणले मानिसहरु हिंसामा परेर पनि आफ्ना कुरा खुलाएर बाहिर आउन नचाहने गरेका उनले बताइन् ।

अधिकारकर्मी मीना खरेलले पछिल्लो समय हुँदै आएको हिंसा चुनौतीपूर्ण बन्ने गरेको अनुभव सुनाइन् । ‘शारीरिक हिंसाभन्दा मानसिक हिंसा डरलाग्दो छ, चुनौतीपूर्ण छ’, उनी भन्छिन्, ‘यसलाई अन्त्य गर्न हामी आफैँले हिंसा सहन्नँ र गर्दिनँ भनेर प्रण गर्न सक्नुपर्छ ।’ लैङ्गिक हिंसा अन्त्य गर्न हरेक स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने पनि उनले सुझाव दिइन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाज र इतिहास भन्ने कुरा शक्तिशाली पक्षको मात्रै लेखिँदै आएको हुँदा हाम्रो समाजले निरीहलाई झनै दबाउने प्रयास गर्दै आएकोले त्यस्ता विषयमा सचेत नागरिक चनाखो हुन आवश्यक रहेको बताए ।

पछिल्लो समय शारीरिक हिंसाभन्दा पनि मानसिक हिंसा डरलाग्दो बन्न थालेको उनले बताए । पछिल्लो समय विकसित सामाजिक सञ्जालको प्रयोगले पनि मानिसहरुमा हुने हिंसाका घटना फेरिँदै आएको उनको भनाइ छ । ‘हामीले घरमा साना बाबुनानीलाई सिकाउँदा नै छोरोजस्तो हुनुपर्छ र छोरीजस्तो हुनुपर्छ भनेर सिकाउँदै आएका छौँ । त्यहीँबाट सुरू भएको छ, हिंसा’, उनी भन्छन्, ‘त्यसकारण बाहिर लैङ्गिक हिंसा गर्न हुँदैन भनेर बोल्दै हिँड्ने अनि घरमा गएर आफैँले त्यो कुरा बिर्सने हामी नै हौँ । तसर्थ, यस्ता बानीलाई आजैबाट सबैले सुधार्न जरूरी छ ।’

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले प्रविधिको विकाससँगै विकृति पनि भित्रिइरहेको हुँदा सचेत नागरिकले संस्कृति र विकृतिबारे फरक छुट्याउन सक्नुपर्ने बताए । प्रविधिको प्रयोग सही तरिकाले नगर्दा या गर्न नजान्दा पनि हिंसाको सिकार बन्न बाध्य भएका घटना समाजमा देखिने, भेटिने हुँदा प्रविधिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा ज्ञान राख्न पनि आवश्यक रहेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०८२ बुधवार - १२:४४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology