काठमाडौँ । समाजिक सञ्जालको लोकप्रियता बढेसँगै हिंसाको स्वरुप पनि डिजिटल बन्दै गएको छ । त्यसैले आज भोलि महिला डिजिटल हिंसाको सिकार भएका छन् ।
अभिनेत्री वर्षा राउतले सोमबार फेसबुकमा यो मन कहिलेकाहीँ अन्धकारतिर तानिन्छ, यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो भन्ने स्टाटस लेखेकी थिइन् । उनी पछिल्लो समय हर्ष फिल्मको प्रचारप्रसारका क्रममा केही दिनअघि एक टिभी कार्यक्रममा श्रीमान संजोग कोइरालासँगको वैवाहिक सम्बन्ध, खटपटको चर्चा, हातमा देखिएको दागसहितका बारेमा बोलेकी थिइन् । त्यसपछि नै हो राउतले सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणीबाट खेप्नुपरेको । ‘समाजले सदैव ‘सब राम्रो देखिनुपर्छ’ भन्ने मुखौटा लगाउन बाध्य पार्छ तर भित्रको गल्ती, अन्याय, असमानता बदल्न कहिल्यै तयार हुँदैन,’ उनले लेखेकी छन् । सो पोस्टमा प्रतिक्रिया दिने धेरैले उनलाई मानसिक रोगीको संज्ञा दिँदै चरित्रमाथि पनि प्रहार गरिरहेका छन् ।
गायिका समीक्षा अधिकारीले त झन पलपल मरेरै बाँच्नुपर्यो । नायक पल शाहसँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्ट्राग्रामलगायतमा ट्रोल बनिन् । यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराको फैसलाअनुसार शाहलाई एक वर्ष थुनामा हुँदासमेत साइबर हिंसाको सिकार भइरहिन् । उनले हिम्मत हारिनन् र गलत निर्णय लिइनन् । त्यस कारण आज ‘बोल्ड’ लेडीका रूपमा परिचित छन् । अझै पनि उनीमाथि डिजिटल हिंसा हुन छाडेको छैन ।
त्यस्तै, विवाह बन्धनमा बाँधिएको ६ महिनामै सम्बन्धविच्छेद गरेकी अर्की गायिका एलिना चौहानले त झनै हरेक सम्बन्धको प्रमाण सामाजिक सञ्जालमा दिनुपर्छ । किनकि उनी वैवाहिक सम्बन्धविच्छेद गरेकी महिला हुन् । उनले पूर्वपति विष्णु सापकोटाले यातना दिएको भन्दै सम्बन्धविच्छेद गरेकी थिइन् । उनले पछिल्लो समय हरेक पल साइबर सिकार हुन पुगेकी छन् । यहाँसम्म कि उनले तिहारमा अर्का गायक प्रताप दाससँग भाइटीका लगाएको प्रमाण देखाउन फेसबुकमार्फत लाइभ गर्न बाध्य भएकी थिइन् ।
यी त घटनामा देखिएका जिउँदा पात्र मात्र हुन् ।
टिकटकर आँचल नाथले सामाजिक सञ्जालमा आएका कमेन्ट, ट्रोल र भिडियोमा आएका नकारात्मक टीकाटिप्पणीका कारण आत्महत्या गरिन् । टिकटकमा १ लाख २० हजार फलोअर्स भएकी २२ वर्षीया नाथले दुई महिना पहिले आत्महत्या गरेकी थिइन् ।
सामाजिक सञ्चाल र अनलाइन प्लेटफर्मको तीव्र विस्तारसँगै नेपालमा डिजिटल हिंसाका घटना तीव्र रूपमा बढिरहेका छन् । साइबर बुलिङ, महिलाको चरित्रमाथि आक्रमण, निजी तस्बिर दुरुपयोग, ब्ल्याक मेलिङदेखि ट्रोलको समेत सिकार भएका छन् ।
सोमबार एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले डिजिटल हिंसाको तथ्यांक प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५/०७६ मा बालबालिकाविरुद्ध १० वटा र महिलाविरुद्ध १९४ डिजिटल हिंसाको उजुरी प्रहरीमा परेको जानकारी दिए । त्यो संख्या बढेर ०८१/०८२ मा बालबालिकाविरुद्ध ४ सय २१ र महिलाविरुद्ध झन्डै ८ हजार उजुरी प्रहरीमा दर्ता भएको छ । यो एकदमै चिन्ताको विषय हो ।
साइबर ब्युरोका अनुसार अहिले सबैभन्दा धेरै उजुरी निजी तस्बिर वा भिडियो दुरुपयोगसँग सम्बन्धित छन् । साथी वा परिचित व्यक्तिले विश्वासका आधारमा पठाइएका तस्बिरबाहिर फिँजाएको, ब्ल्याकमेल गरेका, हटाउन दबाब दिएकोजस्ता घटना बढिरहेका छन् ।
सेलिब्रिटी र सार्वजनिक व्यक्तिमाथि ट्रोलिङ नेपाली कलाकाररसार्वजनिक व्यक्तिले अनलाइन घृणाप्रचार, धम्की र आत्मपहिचान हनन् भोगिरहेका छन् । हिंसामा परेका महिलाहरूले आवाज उठाउँदा झनै डिजिटल हिंसामा पर्ने गरेका छन् । डिजिटल युग आउनुभन्दा पहिला महिलाहरू पनि हिंसामा थिए, उनीहरू आवाज उठाउँदा सामाजिक तिरस्कारमा मात्रै पर्ने गरेका थिए । हिजोआज आवाज उठाउने ती महिला डिजिटल हिंसाको सिकारमा परेका छन् ।
साइबर ब्युरोका अनुसार समाजिक सञ्जालमा फेक आइडी बनाएर आपराधिक गतिविधिमा प्रयोग गर्ने गरेका छन् ।। उजुरी परेका अधिकांश पीडकले फेक आइडी बनाएर नकारात्मक गतिविधिमा प्रयोग गर्दा पत्ता लाग्दैन भन्ने मासिकता छ । कतिपयले कानुनी कारबाही हुन्छ भन्नेबारेमा पनि जानकारी छैन ।
विद्युतीय अपराध वा साइबर अपराध कम्प्युटर तथा कम्प्युटर सञ्जाल प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधका रूपमा लिएको छ । नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ले ‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्ध सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर भनी परिभाषा गरेको छ ।
सामाजिक सञ्जाल दुरुपयोग गर्ने व्यक्तिलाई १ लाख जरिमाना र पाँच वर्षसम्मको जेल सजाय तोकिएको छ । रकारबाट नै राम्रो अभ्यास नभएका कारण सामाजिक सञ्जाललाई नकारात्मक तरिकाले प्रयोग गर्ने प्रवृत्ति नरोकिएको साइबर ब्युरोले जनाएको छ ।
साइबर ब्युरोमा उजुरी दिनेहरूको संख्या
आर्थिक वर्ष २०७९/८० – १ सय ३३ वटा
आर्थिक वर्ष २०८०/८१ – २ सय ५५ वटा
आर्थिक वर्ष २०८१/८२–२ सय ९१ वटा
अभियुक्त पक्राउ पर्नेको संख्या
आर्थिक वर्ष २०७९/८० – १ सय ७ जना
आर्थिक वर्ष २०८०/८१ – २ सय ३२ जना
आर्थिक वर्ष २०८१/८२ – २ सय ८ जना