भरतपुर ।
भरतपुर अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पतालको प्रशासन परिसर घेराउ गरेका छन् । मृतक महिलाका आफन्तले उपचारमा खटिएका चिकित्सकहरुको लापर्बाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
शनिबार राति सुत्केरी हुन आएकी कालिका नगरपालिका–२ बस्ने ३० वर्षीया संगीता विकको मृत्यु भएको हो । संगीताको मृत्युपश्चात् उनका आफन्तले उपचारमा संलग्न चिकित्सकको लापर्बाहीका कारण ज्यान गएको आरोप लगाउँदै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
उनीहरु छानबिनको क्रममा दोषी ठहर हुनेलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगे । मृतकका छिमेकी दाजु गोरखा तामाङले चिकित्सकको लापर्बाहीका कारण संगीताको मृत्यु भएको दाबी गरेका छन् । ‘यही २० गते संगीतालाई डेलिभरीका लागि अस्पताल ल्याएका थियौँ, २२ गते राति ११ः४० बजे अस्पतालले मृत्युको खबर दियो’, आफन्त तामाङले भने, ‘अस्पतालको लापर्बाही देखियो, दुई दिनसम्म कुनै सूचना नदिई एक्कासि मृत्यु भएको खबर दियो ।’
संगीता कार्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पताल आएकी थिइन् । चिकित्सकको निर्देशनअनुसार विभिन्न रगत जाँच गर्दै भिडियो एक्स–रे गर्न गइन् । एक्स–रेमा बच्चाको धड्कन देखिएन । चिकित्सकले नर्मल डेलिभरीका लागि अस्पताल भर्ना गर्नुपर्ने बताए । उपचार हुँदै गयो ।
‘कार्तिक २२ गते दिउँसोबाट अवस्था झन् बिग्रँदै गएपछि बिरामीलाई त्यो दिन रातको ९ बजे बल्ल आइसियूमा लगियो’, तामाङले भने, ‘सुधार हुँदैछ भन्दाभन्दै मृत्यु भएको खबर अस्पतालले दियो, हामी त छाँगाबाट खसेजस्तो भयौँ ।’ उनले पेटभित्रको बच्चाको धड्कन नआए तत्काल अपरेसन किन गरिएन भन्दै प्रश्न गरेका छन् ।
‘नर्मल डेलिभरी गराउने भन्दै किन राखियो ? तत्काल अपरेसन गरेर मृतक बच्चा निकालेको भए आमाको ज्यान बच्ने थियो’, उनले भने, ‘उपचारमा लापर्बाही देखियो ।’ मृतकका आफन्तहरुले भरतपुर अस्पतालको प्रशासन कार्यालयमा पुगेर घेराउ गरेका थिए । उनीहरुले अस्पतालको लापर्बाहीबाट गर्भवती महिलाको मृत्यु भएको भन्दै केही बेर नारा लगाएका थिए ।
प्रशासन कार्यालय घेराउपछि मृतकका आफन्तहरु जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसमक्ष ज्ञापन पत्रसमेत बुझाएका छन् । प्रजिअ अर्यालले अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्ने आश्वासन दिएका मृतकका आफन्तले बताए । ‘सोमबार पुनः छलफलको लागि बोलाउँछु भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभयो’, गोरखा तामाङले भने, ‘छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ भन्ने माग हामीले गरेका छौँ ।’
भरतपुर अस्पतालका प्रवक्ता तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले उपचारको क्रममा कुनै गल्ती, त्रुटि नभएको दाबी गरेका छन् । अचानक मुटुमा समस्या आएका कारण बिरामीको मृत्यु भएको उनको दाबी थियो । ‘मुटुको जाँच गर्दा नसामा रगत जम्ने समस्या (म्यासिभपल्मोनरी एम्बोलिजम) नै मृत्युको कारण हो’, डा. सापकोटाले भने ।
उनका अनुसार २० गते धेरै नै पानी गइसकेपछि बल्ल बिरामीका आफन्त उपचारका लागि आएका हुन् । ‘नर्मल डेलिभरी गराउन खोजेका हौँ, ६ घर खुलेको पनि थियो तर अचानक बिरामी ढल्नुभयो’, डा. सापकोटाले भने । बच्चाको मृत्यु भइसकेपछि आमालाई शल्यक्रियाको अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको डा. सापकोटा बताउँछन् ।
उपचारको क्रममा ‘कार्डियाक अरेस्ट’ भएका कारण संगीताको अचानक मृत्यु भएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गर्भवतीको उपचारको क्रममा मृत्यु भएपछि पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा निवेदन आएको बताए । उनले भने, ‘निवेदन हेर्ने क्रममै छु, घटनाबारे बुझ्दै छु ।’ मृतक महिलाको दुई छोरा र एक छोरी छन् । उनका श्रीमान् पेसाले डकर्मी हुन् ।