Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गुजारा चलाउन सहयोग माग्दै जेनजी आन्दोलनका घाइते भरतपुरका आरूष गुरूङ

गुजारा चलाउन सहयोग माग्दै जेनजी आन्दोलनका घाइते भरतपुरका आरूष गुरूङ

images

पत्रपत्रिका

३१, आश्विन २०८२
गुजारा चलाउन सहयोग माग्दै जेनजी आन्दोलनका घाइते भरतपुरका आरूष गुरूङ
images

भरतपुर । चितवनमा जेनजीले गरेको अन्दोलनका क्रममा खुट्टामा गोली लागेका भरतपुर–१० मा बस्दै आएका २२ वर्षीय आरूष गुरूङका परिवारले सहयोगको अपिल गरेका छन् । दैनिक गुजारा चलाउन र उपचार गर्न गाह्रो भएकोले उनीहरुले सहयोगदाताहरुसँगको सहारा खोजेका हुन् ।

वास्तविक नाम रणबहादुर रहेका लमजुङका आरूषका दिदीभाइले बाबाको मृत्यु र आमाले छाडेर गएपछि सामान्य रेस्टुरेन्टमा काम गरेर जीवनयापन गरिरहे पनि अहिले गम्भीर अवस्थामा पुगेपछि बाँच्नका लागि दातृ संस्थाको सहयोग माग्नुबाहेक अरु उपाय नभएको उनकी दिदी शान्ति गुरूङले बताइन् ।

लायन्सचोकको थर्डआई रेस्टुरेन्टमा काम गर्ने आरूषले सो दिन बिदा परेकोले यत्तिकै हेर्नका लागि आन्दोलनमा पुगेको भन्दै आफूसँग टाढा–टाढासम्म आन्दोलनमा जान सवारीसाधन नभएपछि नजिकैको भाटभटेनी र महानगर कार्यालयअगाडि गएको समूहमा उनी मिसिएको बताए । यही बेला चलेको गोली आरूषको खुट्टामा पछाडिबाट लागेको र अर्को गोली पछिल्लो पकेटमा रहेको मोबाइलमा लागेर त्यो फुटेको उनले बताए ।

करिब ५ बजेतिर गोली लागेपछि उनी अचेत अवस्थामा पुगेको र होसमा आउँदा सिएमसीमा थिए । सानैमा बुबा गुमाएका आरूषले आमाले पनि छोडेर अरुसँगै गएपछि दिदी शान्ति नै उनको सहारा थिइन् । शान्तिले विभिन्न होटलमा काम गर्दै दुःखसुख मजदुरी गरी, अरुको घर सफा गर्दै कोठाभाडा तिरेर आफ्नो एकमात्र भाइलाई प्लस टुसम्म शिक्षादीक्षा दिई हुर्काउँदै आएकी थिइन् । पटकपटक रोजगारीका निम्ति अरब मुलुक गएकी शान्ति भाइलाई गोली लागेको भोलिपल्ट नै कतार जाने तयारीमा थिइन् ।

अहिले भाइ यस्तो अवस्थामा पुगेपछि बाहिर जाने अवस्थै रहेन, दैनिक गुजारा चलाउन हाल उनलाई गा¥हो भएको छ । विदेश बसेर आफैँले पढाएको भाइको हेरचाहमा हाल उनी खटिएकी छन् । ‘यतिका वर्ष लगानी गरेर हुर्काएको भाइमाथि राज्यले अनाहक गोली बर्साएपछि कसको चित्त दुख्दैन ?’ उनले भनिन्, ‘अब भविष्यमा काम गरेर खान सक्छ कि सक्दैन ? मलाई अहिले यही पिर छ ।’

विवाहपछि पनि दिदी शान्तिका श्रीमान्ले अर्को बिहे गरेपछि ससाना छोराछोरीसमेत दिदीभाइले नै सामान्य मजदुरी गरेर डेरामा राखेर पालेका थिए । ‘म त काम गर्न सक्थेँ, उसलाई कुर्ने कोही छैन’, उनले भनिन् ।

सिएमसीमा पहिलोपटकको पैसा नलागे पनि पछि ड्रेसिङमा जाँदा पैसा तिर्नु परेको उनी बताउँछिन् । सरकारीमा जाँदा पनि टिकट, ड्रेसिङ, एक्स–रे र औषधिको पैसा तिर्नु परेको उनी बताउँछिन् ।

‘हामी त जेनजी आन्दोलनका घाइते हौँ’ भन्दा पनि पहिलोचोटि हो उपचार निःशुल्क, अब त पैसा लाग्छ भन्ने जवाफ पाएको दिदी शान्ति बताउँछिन् । उनले घाइतेको उपचार निःशुल्क गर्ने व्यवस्थाका निम्ति पहल गरिदिनका लागि आग्रह गरेकी छन् ।

घाइते भाइको महिनाभन्दा बढी बितिसक्दा पनि सुधार नभएको उनले बताइन् । ‘डाक्टरले हड्डी र मासु जोडिएको छैन भन्छन्’, उनी भन्छिन्, ‘डाक्टरले धेरै बोल्न र चल्न नदिएपछि भाइको अवस्था अत्यन्त कष्टकर बनेको छ ।’

डाक्टरले यस्तै अवस्था रहे तिहारपछि अप्रेसन गर्नुपर्ने बताएको भन्दै उनले यसका लागि धेरै पैसा लाग्ने बताइन् । उनले भाइलाई बचाउन विभिन्न सहयोगी मनहरुसँग सहयोगको याचना गरेकी छन् । चितवनपोष्टबाट

images
प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार - ०८:३८:१२ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology