इच्छाकामना । उपरदाङगढीमा सञ्चालित घरवास सम्भवतः चितवनकै पहिलो घरवास हो । किनकि यहाँ २०६० सालभन्दा अघिदेखि नै घरवास सञ्चालन भएको इतिहास छ । चितवनको पुरानो सदरमुकाम भएका कारण उपरदाङगढीप्रति चासो राख्नेहरु पहिलेदेखि नै यहाँ आउने गर्थे । तर, ग्रामीण परिवेशमा बजारबाट आएको एकैदिन फर्किन सक्ने अवस्था नहुँदा आगन्तुकहरु समस्यामा पर्ने गरेको अनुभव यहाँका स्थानीयले गर्दै आएका थिए ।
तसर्थ, तेजबहादुर गुरूङ र गणेश थापामगरले यहाँ आउने पाहुनालाई जसोतसो आफ्नै घरमा बास बसाउने प्रबन्ध मिलाउन थाले । २०७२ सालपछि भने धेरैले घरवासलाई व्यावसायिक बनाउन थालेको सिराइचुली होमस्टेका सञ्चालकसमेत रहेका स्थानीय मगर बताउँछन् । अहिले यहाँ ११ घरधुरीले घरवास चलाएका छन् । त्यसकारण अबका दिनमा सामुदायिक घरवासको रुपमा विकास गर्ने गरी तयारी भइरहेको उनले बताए ।
विशेषगरी, यहाँका रैथाने उत्पादनको प्रवद्र्धन गर्ने गरी घरवासलाई सामुदायिक बनाउने विषयमा घरवास सञ्चालकहरुबीच पटकपटक छलफल भएको उनको भनाइ छ । ‘पछिल्लो समय घरवास खुलेका स्थानहरु सामुदायिक भइसके । हाम्रो यहाँ पनि अब सामुदायिक बनाउने प्रयास भइरहेको छ’, घरवास सञ्चालक मगर भन्छन्, ‘सामुदायिक बनाएपछि एउटा परिधिभित्र रहेर, समुदायले बनाएको नियमभित्र रहेर काम गर्दा आउने पाहुनालाई जता बसे पनि एकरुपता दिलाउन सकिन्छ ।’
सामुदायिक नहुँदा सबै घरवासमा फरक–फरक दरमा सेवा दिँदा त्यसले कतिपयमा नकारात्मक सन्देश प्रवाह हुने गरेको उनले सुनाए । ‘यसलाई चिर्नका लागि पनि सामुदायिक घरवास बनाउन आवश्यक छ’, उनी थप्छन्, ‘सबै घरमा दिने सुविधा र शुल्कमा एकरुपता भएपछि ग्राहक ठगिने समस्या हटेर जान्छ ।’
तेज होमस्टेका सञ्चालक सविन गुरूङ भने हाल सञ्चालित घरवासलाई सामुदायिक विकास गर्न सके यस क्षेत्रमा बसोवास गर्ने चेपाङ समुदायको आयस्रोतमा विकास गर्न सकिने बताउँछन् । स्थानीय उत्पादनमा चेपाङ समुदायलाई केन्द्रित गराउन सके घरवासमा आउने पाहुनालाई शतप्रतिशत स्थानीय उत्पादनमार्फत स्वागत गर्न सकिने उनको बुझाइ छ । ‘हेर्दा पखेरो ठाउँ भए पनि यस क्षेत्रमा धानबाहेक मौसमअनुसारको खेतीपातीबाट राम्रो उत्पादन हुन्छ’, उनी भन्छन्, ‘यहाँ जे फल्छ त्यसैको उत्पादन गरेर घरवासमा प्रयोग गर्ने हो भने धेरै जना चेपाङको चुल्हो सजिलै बाल्न सकिन्छ ।’
घरवास सञ्चालन गर्ने यतै व्यस्त हुने भएपछि खेतीपातीमा समय दिन पनि नभ्याइने उनले बताए । पछिल्लो समय गाउँघरमा जनशक्तिको अभाव हुन थालेको बताउँदै फुर्सदमा रहेका व्यक्तिहरुलाई व्यस्त बनाउन पनि यो विषयले भूमिका खेल्ने गुरूङको भनाइ छ ।
अहिले गाउँको बारी बाँझो बस्ने घरवासमा आवश्यक पर्ने कतिपय खरखजाना बजारबाटै ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाए । घरवाससँग चेपाङ जातिको श्रम, त्यसपछिको उत्पादनलाई जोड्न सके स्थानीय उत्पादनको बजारीकरण पनि हुने र पाहुनालाई पनि पहाडी उत्पादन खुवाउन पाइने हुँदा यहाँका स्थानीयलाई उत्पादन र बजारको समस्या नहुने गुरूङले बताए । यस्तो अवस्थामा स्थानीय सरकारले सहयोग गर्न पनि सजिलो हुने उनको भनाइ छ ।
‘नयाँ ठाउँमा घरवास सञ्चालन गर्दा स्थानीय सरकारले शतप्रतिशत लगानी गर्दै आएको छ । तर, उपरदाङगढीमा आधा लगानी भए पुग्छ’, उनी भन्छन्, ‘किनकि स्थानीयले आफूले सकेको लगानी पहिल्यै गरिसकेको छ । त्यसलाई थप सुविधायुक्त र विस्तारका लागिमात्रै बजेट आवश्यक पर्ने हो ।’
स्थानीय सरकार पनि उपरदाङगढीको घरवासलाई सामुदायिक बनाउने विषयमा सकारात्मक नै छ । यसअघि नै सामुदायिक बनाउन गाउँपालिकाले नै प्रस्ताव गरेको थियो । त्यतिबेला स्थानीयबीचमा सहमति जुट्न नसक्दा सामुदायिक घरवासको रुपमा विकास गर्न नसकिएको हो । त्यसपछि इच्छाकामना गाउँपालिकाको सहयोगमा इच्छाकामना गाउँपालिका वडा नं–२ को घुर्केशमा अहिले सामुदायिक घरवास सञ्चालनमा छ । त्यसकारण व्यक्तिगतरुपमा चलिरहेको घरवासलाई सामुदायिक बनाउने विषयमा गाउँपालिकाले आवश्यकताअनुसारको सहयोग र सहकार्य गर्ने जनाएको छ ।
हाल उपरदाङगढीमा घरवासबाहेक पनि केही होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । इच्छाकामना गाउँपालिकाको वडा नं–७ मा पर्ने उपरदाङगढी क्षेत्रमा चेपाङ जातिको उल्लेख्य बसोवास रहे पनि घरवास सञ्चालन गर्नेहरुमा भने गुरूङ र मगर जाति छन् ।