Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विकास निर्माणले फेरिएको उपरदाङगढी, दर्जन परिवारको आम्दानीको स्रोत नै घरवास

विकास निर्माणले फेरिएको उपरदाङगढी, दर्जन परिवारको आम्दानीको स्रोत नै घरवास

इच्छाकामना न्युज

३, आश्विन २०८२
विकास निर्माणले फेरिएको उपरदाङगढी, दर्जन परिवारको आम्दानीको स्रोत नै घरवास
images

इच्छाकामना । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा घरवास सञ्चालन हुन थालेको करिब साढे दुई दशक भइसक्यो । माओवादी सशस्त्र सङ्घर्ष नसकिँदैदेखि गढी आन्तरिक पर्यटनको गन्तव्य बनेको थियो । त्यतिबेला सडक थिएन । शक्तिखोर बजारबाट हिँडेरै गढी हेर्न पुग्थे । तर, फर्किन नभ्याइने भएपछि बास बस्ने ठाउँ पनि थिएन ।

images
images

पाहुनाहरुलाई बास बस्ने समस्या भएपछि तेजबहादुर गुरूङ र गणेश थापामगरले पाहुना राख्ने बन्दोबस्त मिलाए । आफ्नै गाउँमा फलेको उत्पादन खुवाएर पाहुनालाई बिदा गर्न थाले । जिल्लाको पुरानो सदरमुकाम मात्र नभई बाइसे चौबिसे राज्यको पालामा बनेको ऐतिहासिक किल्ला भएकोले पनि गढी हेर्न पहिलेदेखि नै मानिसहरु आउने गर्थे ।

२०६७ साल ताका गढी पुग्ने नयाँ सडक खनियो । त्यतिबेला गाउँलेले कुटो–कोदालो र गैँची बोकेरै बाटो ल्याउने काममा प्रयास गरे । बाटोको विकास हुन थालेपछि गढी आउने बाटोको सहजता पनि बढ्दै गयो । अहिले उक्त सडक करिब करिब शतप्रतिशतजस्तै कालोपत्रे भएपछि गढी घुम्न आउनेको सङ्ख्या पनि बढेको छ ।

गढीमा आगन्तुकको आगमन बढ्दै गएपछि करिब २०७२ सालपछि धेरैले घरवास खोलेका छन् । इच्छाकामना गाउँपालिकाको वडा नं–७ मा पर्ने उपरदाङगढीमा अहिले ११ परिवारले घरवास सञ्चालन गरेका छन् । उनीहरुले घरवास चलाएरै परिवार धानिरहेका छन् । तेज होमस्टेका सञ्चालक सविन गुरूङका अनुसार ११ घरमा घरवास सञ्चालन गर्दा अहिले एकपटकमा करिब दुई सय जनालाई खाना खुवाएर बास बसाउन सक्ने क्षमता बनिसकेको छ ।

एउटै घरमा आठ जनादेखि ४० जनासम्म राख्न सक्ने क्षमताको विकास भइसकेको उनले बताए । ‘होमस्टेले आवश्यकताअनुसार क्षमता विस्तार गरेको हो’, उनले भने, ‘होमस्टेबाहेक होटल तथा रेस्टुराँहरु पनि खुलिरहेका छन् ।’ होटल तथा रेस्टुराँहरु व्यावसायिकरुपमा चले पनि होमस्टेहरुले भने स्थानीय उत्पादनको प्रवद्र्धन पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘गाउँमा उत्पादन नहुने र भएका उत्पादनले पनि नपुगेको अवस्थामा मात्रै बजारबाट ल्याउँछौँ’, उनले भने, ‘मिलेसम्म मौसमअनुसार गाउँकै उत्पादन खुवाएर पठाउने गरेका छौँ ।’

गाउँमा उत्पादन कम हुने र भएका उत्पादन पनि आएका पाहुनाले लिएर जाने हुँदा गाउँको उत्पादन सधैँ अपुग हुने उनको भनाइ छ । मौसमअनुसारका सागपात, गेडागुडी, ढिँडो र स्थानीय जातका कुखुरा भने पर्याप्त रहेको उनले बताए । ‘पहिले पहिले लोकल कुखुराको समस्या थियो, अहिले छैन । गाउँमा सबैले पालेकै छन्’, उनी भन्छन्, ‘यहाँ आउँदा लोकल कुखुरा, लोकल मदिरा नै विशेष प्राथमिकतामा पर्छन् ।’

सिराइचुली होमस्टेका सञ्चालकसमेत रहेका गणेश थापामगरका अनुसार गढीमा हप्तामा सरदर तीन सय प्रति टिकट बिक्री हुने गरेको छ । ‘कुनै हप्तामा सार्वजनिक बिदा बढी पर्दा पाँच सय नाघ्छ’, उनले भने, ‘सामान्य अवस्थामा पनि हप्तामा तीन सय टिकट बिक्री हुने गरेको छ ।’ टिकट बिक्रीबाट सङ्कलित राजस्व भने शतप्रतिशत गाउँपालिकामा जान्छ । त्यसका लागि गाउँपालिकाले टिकट बिक्री र गढी क्षेत्रको सरसफाइका लागि दुई जना कर्मचारी खटाएको छ ।

सार्वजनिक बिदाको दिन बढी मानिसहरु गढी घुम्न आउँछन् । बजारबाट नजिकको दूरीमा भएकोले धेरैजसो फर्किन्छन् । इच्छाकामना गाउँपालिकाको तथ्याङ्क हेर्ने हो भने पनि मासिक सरदर एक लाख रूपैयाँभन्दा बढी राजस्व गढीबाटै सङ्कलन भएको देखिन्छ । गत आर्थिक वर्षको राजस्व सङ्कलन हेर्दा एक वर्षमा १२ लाख ७५ हजार रूपैयाँ राजस्व उपरदाङगढीबाटै सङ्कलन भएको थियो ।

सडक र बिजुली बत्तीको सुविधासँगै पछिल्लो समय गढीमात्रै नभई मायाटार, घुर्केशलगायतका स्थानमा पनि पाहुना पुग्ने गरेका छन् । इच्छाकामना गाउँपालिका वडा नं–२ मा पर्ने घुर्केशमा गत वर्षदेखि सामुदायिक होमस्टे नै सञ्चालनमा छ । चाडपर्व लागेसँगै गढी आउनेको सङ्ख्या बढ्दै गएको छ । गढीमा भने गत वर्ष कोतघरको पुनर्निमाण तथा ढुङ्गेधारा बनाइएको छ । त्यसले पनि गढीको आकर्षण थप बढाएको छ ।

पहाडी दृश्य र छिनछिनमै हुने मौसमी फेरबदलले जोकसैको मन लोभ्याउने गढी आउनेहरु बताउँछन् । ‘विशेषगरी, तराईका क्षेत्रमा चर्को गर्मी हुँदा गढीमा आनन्द मिल्ने रहेछ’, भरतपुरबाट घुम्न आएका निर्मल कँडेल भन्छन्, ‘बर्खाको बेला पनि कुहिरोको लुकामारीले मनै आह्लादित तुल्याउँदो रहेछ ।’ चितवनपोष्टबाट

 

images
प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - ०९:२४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology