Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जेलबाट छुटेपछि रास्वपा सभापति रवि लामिछानेले देखाएको पत्र ‘नक्कली’ !

जेलबाट छुटेपछि रास्वपा सभापति रवि लामिछानेले देखाएको पत्र ‘नक्कली’ !

इच्छाकामना न्युज

२७, भाद्र २०८२
जेलबाट छुटेपछि रास्वपा सभापति रवि लामिछानेले देखाएको पत्र ‘नक्कली’ !
images

जेन–जी आन्दोलनकै बिचमा भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने नख्खु जेलबाट छुटेका थिए। सहकारीको बचत रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका लामिछाने त्यो दिन दलबलसहित जेलबाट बाहिरिएका थिए।  

images
images

नख्खु जेलबाट भिडभाडसहित एउटा गाडीमा निस्किएका उनी बाटैभरी हात हल्लाउँदै पार्टी कार्यालयसम्म पुगेका थिए। उनलाई कारागारबाट निकाल्न चितवनदेखि नै रास्वपाले ठुलो भिड उतारेको स्रोत बताउँछ।  

लामिछाने निस्किएपछि नख्खु जेलबाट बाँकी सबै कैदीबन्दी पनि निस्किएका थिए। त्यसको प्रभाव देशैभरका कारागारसम्म पुग्यो। त्यसपछि देशैभरका कारागारबाट १६ हजार कैदीबन्दी फरार भएका थिए।  

त्यसपछि भने लामिछानेको चर्को आलोचना हुनथाल्यो। अनि उनी प्रतिक्रिया दिन बाध्य भए। सोही दिन साँझ फेसबुक लाइभमा आउँदै उनले आफूलाई प्रक्रिया पुर्‍याएर कारागारले नै छाडेको दाबी गरे। त्यसको पुष्टि गर्न एउटा पत्र पनि सार्वजनिक गरे।  

नख्खु कारागार कार्यालयको ‘लेटर हेड’मा जारी गरिएको पत्रको विषय ‘जो जससँग सम्बन्ध छ’ भनेर उल्लेख गरिएको थियो।  

व्यहोरामा पनि रास्वपाले भन्दैआएको ‘राजनीतिक प्रतिशोध’को विषयलाई जोड दिन खोजिएको छ। सँगै ‘न्यायको प्रत्याभूति आवश्यक भएको’ भन्ने आशय उल्लेख गरेर ‘मास सेन्टिमेन्ट’ बटुल्न खोजेको छ।

‘देशमा अमनचयन कायम गर्न न्यायको प्रत्याभूति आवश्यक भएकोले गोरखा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा हाल थुनामा रहनु भएका मा.(माननीय) रवि लामिछानेलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ,’ पत्रको व्यहोरामा भनिएको छ, ‘मुद्दा फिर्ता गर्ने कानुनी प्रक्रियामा समय लाग्ने भएको र सो अवधिमा थुनामा राखिराख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णायानुसार जानकारी गराइन्छ ।’ यस्तै ‘मुलुकमा व्याप्त परिस्थितिलाई मध्यनजर गर्दै मा. लामिछानेले रिहा हुन मन्जुर गर्नु भएको श्रीमान गृह सचिव ज्यूको आदेशानुसार व्यहोरा अनुरोध छ’ भनेर पनि पत्रमा उल्लेख छ।  

पत्र कारागार प्रशासक सत्यराज जोशीद्वारा जारी गरेको भनेर हस्ताक्षर छ। जसको बोधार्थमा काठमाडौं जिल्ला अदालत, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी बल नं. २१ गण र प्रतिवादी सुरेन्द्र राईलाई राखिएको छ।  

पत्रको व्यहोरा र बोधार्थ सूची नै आश्चर्य लाग्ने र प्रथम दृष्टिमै फर्जी लाग्ने खालको छ।

पत्रको आधिकारिकताबारे शुक्रबार नख्खु कारागार प्रशासनसँग बुझ्न खोज्दा उक्त पत्र आधिकारिक नभएको पाइएको छ। ‘त्यो व्यहोराको कुनैपनि पत्र आधिकारिक रूपमा हाम्रो कारागारबाट जारी भएको छैन,’ कारागारस्रोतले भन्यो। ‘हुलमुलमै जारी भएको पो हो कि?’ भन्ने नागरिकको प्रश्नमा कारागार प्रशासनले पत्रको व्यहोरा मात्र नभई हस्ताक्षर पनि नक्कली भएको प्रतिक्रिया दिए।

images
प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - २०:५२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology