काठमाण्डौँ फागुन,१९। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड–माधव समूहका नेताले दौडधूप गरिरहेका छन् । आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड–माधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।