पोखरा । पोखरा महानगरपालिकाभरिका ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वर्षको उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ। विगत २० वर्षदेखि पोखरा महानगरपालिका–१७ सीतापाईलास्थित पोखरा वृद्धाश्रममा आश्रित रहँदै आएका दाहालको बिहान १०:३० बजे वृद्धाश्रममै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए।
दाहालको आजै पोखराको दोविल्ला घाटमा अन्त्येष्टि गरिएको छ। गत वर्ष पोखरा महानगरपालिकाले उहाँलाई ज्येष्ठ नगर पिताको रूपमा सम्मान गरेको थियो।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–लाहाचोकमा जन्मेका दाहाल सानै उमेरदेखि बेसहारा अवस्थामा पोखरा महानगरपालिका–२१ निर्मल पोखरीस्थित अशोक र भरत रायमाझीको परिवारको संरक्षणमा बस्दै आएका थिए। पछिल्ला २० वर्षयता रायमाझी परिवारकै सहयोगमा उनी पोखरा वृद्धाश्रममा बस्दै आएका अशोक रायमाझीले जानकारी दिए।
अध्यक्ष पराजुलीका अनुसार, दाहालको स्वास्थ्य अवस्था पछिल्लो पाँच दिनदेखि अत्यन्त कमजोर रहेको र यही कारण उनको निधन भएको हो।