कालीखोला, १७ फागुन । चितवनको इच्छाकामना गाउँपालिका ६ कालिखोलामा अवस्थित देवीभञ्ज्याङ आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। विद्यालयको प्राङ्गणमा नै आज एक कार्यक्रमको आयोजना गरि २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

दिवसको अवसरमा विद्यालयले विविद्य साँस्कृतिक प्रस्तुति सहितको कार्यक्रम आयोजना गरेको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष बल बहादुर चेपाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा इच्छाकामना गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्का प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी बालगोपाल चुके, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष दान बहादुर गुरुङ, वडा सदस्य राम बहादुर घर्ती, एनआरएन संस्थाका प्रतिनिधी बिरु गुरुङ, हेल्पकोड नेपालका प्रतिनिधि शिला देवकोटा, मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक कुमार श्रेष्ठ लगायत शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो।

यस्तै कार्यक्रममा विद्यालयको लागि लामो समय देखि विभिन्न सहयोग गर्दै आउनुभएका समाजसेवी बालगोपाल चुके दम्पत्ती र जग्गादाता होम बहादुर चेपाङलाई सम्मानलाई गरिएको थियो।




