भरतपुर । नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको देवघाटमा गुरूङ संस्कारअनुसार अन्त्यष्टी गरिएको छ। शनिबार निधन भएका गुरूङलाई गुरूङ समुदायको परम्परा एवम् संस्कृतिअनुसार धर्मगुरूहरुबाट अन्तिम संस्कारको लागि कर्म गरिसकेपछि सशस्त्र प्रहरीद्वारा सलामी अर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो।
त्यसभन्दा अघि स्वर्गीय गुरूङको निवास भरतपुर-२६ दिव्यनगरमा नेपाली कांग्रेसले पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गरेको थियो। गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ चितवन आएका थिए। उनले नेपाली कांग्रेसमात्र नभई नेपाली राजनीतिमै महान् योद्धा गुमाएको बताए।
घरमा श्रद्धाञ्जली अर्पण गरिसकेपछि पार्टीको जिल्ला समितिको कार्यालय कमलनगरमा करिब आधा घण्टा श्रद्धाञ्जली अर्पण गरेपछि देवघाटमा अन्त्यष्टी गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए। नेपाली राजनीतिमा एक जना त्यागी एवम् सादगी नेता गुमाएको भन्दै कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापतिसमेत रहेका गुरूङ पार्टी पङ्क्तिमा पदीय हिसाबले थोरै ठाउँमा भए पनि राजनीतिमा आफूले लिनेभन्दा दिने काममा बढी सक्रिय हुने गरेका उनका सहकर्मीहरुले बताउँदै आएका छन्।
गुरुङको अन्तिम बिदाइमा जिल्ला तहका विभिन्न दलका नेता तथा कार्यकर्तासहित चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखलगायत विभिन्न कार्यालयका प्रमुखहरुको समेत उपस्थिति थियो।
गण्डकी प्रदेशका पूर्वप्रमुखसमेत रहेका नेता गुरूङ केही समयदेखि क्यान्सरको समस्यासँग जुधिरहेका थिए। उपचारका क्रममा भारतसम्म पुगेर घर फर्किएका उनको शनिबार बिहान निवासमै निधन भएको हो।