काठमाण्डौ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– नेपाल समूहलाई चुनौती दिनुभएको छ । प्रचण्ड– नेपाल समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दावी गरिरहेको तर्फ इंगित गर्दै उहाँले आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिनुभएको हो ।
आज पोखरामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, बैठक बोलाइदिन्छु, विधिवत भेटौं । विधि र पद्धति अनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको ओलीको भनाइ थियो । ओलीले प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने भन्दै विधि र प्रक्रियाबाट आउन आग्रह गनुभयो ।
प्रचण्ड–नेपाल समूहसँग भएको बहुमत पनि आफूले दिएको दावी प्रधानमन्त्रीको थियो । आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रुपमा प्रयोग गरेको ओलीले बताउनुभयो । प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यलाई जरुरी परेका बेला आफूले हटाइदिन पनि सक्ने दावी प्रधानमन्त्रीको थियो ।