Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

हराउँदै जुम्लाको ‘बालो नाच’

हराउँदै जुम्लाको ‘बालो नाच’

images

इच्छाकामना न्युज

२२, आषाढ २०८२
हराउँदै जुम्लाको ‘बालो नाच’
images

नौरते नेपाली, सिँजा (जुम्ला) । कला, संस्कृति र मौलिक परम्पराले भरिपूर्ण जुम्लाका परम्परागत चलनले समाजमा आफ्नै पहिचान बनाएका छन् । समयक्रमसँगै यस्ता मौलिक पहिचान हराउँदै गइरहेका छन् । यस्तै हराउने अवस्थामा पुगेको छ, बालो नाच । 

बालक जन्मिएपछि स्वागत र खुसियाली मनाउन बालो नाच हराउँदै गएकोमा स्थानीय चिन्तित देखिन्छन् । परम्परा अनुसार बालक जन्मेको छ दिनदेखि न्वारनसम्म गाउँका महिला र पुरुष बालकको घरमा पुगेर नाचगान गर्छन् । उनीहरूले बालकको प्रतीकात्मक स्वरूप बनाएर नाच्ने गाउने गर्छन् । 

यी गीतमा हर्ष, आर्शीवाद, हास्य र कहिलेकाहीँ व्यङ्ग्य पनि मिसिएको हुन्छ । गीत गाउने क्रममा उनीहरूले घरका सदस्यबाट दक्षिणा, वस्त्र वा अन्य दान लिने परम्परा छ । पछिल्लो समय यस्ता संस्कृति हराउँदै गएकोमा स्थानीय खडानन्द चौलागाईंले दुःखेसो पोख्नुभयो । उहाँले परम्परागत संस्कृतिले समाजको मौलिक पहिचान झल्काउने बताउँदै ती संस्कृति लोपोन्मुख हुन नदिन जनस्तरबाट सक्रियता बढाउनुपर्ने औँल्याउनुभयो ।

पछिल्लो समयमा आधुनिक गीतसङ्गीतको प्रभावले यस्ता परम्परागत संस्कृति लोपोन्मुख भइरहेका छन् । स्थानीय गायक तथा संस्कृतिकर्मी विश्वराज खत्रीका अनुसार आधुनिक गीतसङ्गीतको बजारले यस्ता मौलिक परम्परालाई बिस्तारै विस्थापित गरिरहेको छ । कुनै समय यी संस्कृतिको महत्व बेग्लै थियो । बच्चा जन्मिँदा बालो नाच नचाइन्थ्यो । घर घरमा नयाँ बालक जन्मेको खुसियालीमा बालक झैँ दुरुस्तै बनाएर नचाउने, गीत गाउने र त्यसको बदलामा केही रकम माग्ने प्रचलन थियो, संस्कृतिकर्मी खत्रीले भन्नभयो ।

यस्ता गीतसङ्गीतले मनोरञ्जन दिनुका साथै सामूहिक खुसी बाँडी समाजमा आपसी मेलमिलाप तथा भाइचारा बलियो बनाउने गरेको चौलागाईंले बताउनुभयो । पछिल्लो समय आधुनिक सङ्गीत र जीवनशैलीको प्रभावले गर्दा बालो नाचको परम्परा हराउँदै गएको छ । पहिले जसरी गाउँघरमा बालो नचाइने र गीत गाइने चलन अब विरलै मात्र देखिन्छ । यस्तै अवस्था रहे केही वर्षमै यो मौलिक संस्कृति कथाका रूपमा सीमित हुने डर स्थानीयलाई छ । त्यसैले सचेत भएर यस्ता परम्परालाई संरक्षण र प्रवर्धन गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको चौलागाईं बताउनुहुन्छ ।  

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - ०८:१७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology