आँबुखैरेनी, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आँबुखैरेनीले तेस्रो स्थापना दिवसको अवसरमा शनिबार शान्तिपूर्ण विरोध पदयात्रा तथा धार्मिक स्थलहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। “लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद” भन्ने मूल नारासहित कार्यक्रम गरिएको हो।
पदयात्रा आँबुखैरेनी-३, स्थित पेट्रोल पम्पबाट सुरु भई बसपार्क हुँदै शिवालय मन्दिर परिसरमा आएर कोणसभाका रूपमा परिणत भएको थियो। सो अवसरमा शिवालय मन्दिर, ताओ मन्दिर, बौद्ध गुम्बा, तथा साई केन्द्र परिसर वरपर सरसफाइ गरिएको थियो। कार्यक्रमको अध्यक्षता रास्वपा आँबुखैरेनीका सभापति राम श्रेष्ठले गरेका थिए।
कार्यक्रममा केन्द्रिय ऊर्जा विभाग संयोजक श्रीराम न्यौपाने, जिल्ला सभापति बिश्व बास्तोला, क्षेत्रीय सभापति बिष्णु बहादुर पन्त, लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रास्वपाका नेताहरूले लुटतन्त्रको अन्त्य र जवाफदेही राजनीतिक अभ्यासका लागि सडकदेखि संसदसम्म जनमत परिचालन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।