मुग्लिन, जेठ २५ । मुग्लिङ क्षेत्रमा गएराति नेपाल टेलिकमको फाइबर अप्टिकल केबल चोरी भएपछि कुरिनटारसहित आसपासका केही स्थानहरूमा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल टेलिकमका अनुसार चोरीका कारण फाइबर नेट (FTTH) सेवामा गम्भीर असर परेको छ। केबल चोरीको घटना मुग्लिङको मुख्य सडक खण्ड नजिकै रातिको समयमा भएको जनाइएको छ। चोरीका कारण कुरिनटार, फिस्लिङ, अाबुखैरेनी र वरपरका क्षेत्रमा रहेका सेवाग्राही प्रभावित भएका छन्।
नेपाल टेलिकमका प्रवक्ताले घटनाको पुष्टि गर्दै भने, "हामी प्राविधिक टोली घटनास्थलमा पठाइसकेका छौं। यथासक्य छिटो सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।" यसअघि पनि काठमाडौं, भक्तपुर लगायतका विभिन्न स्थानमा यस्तै किसिमका चोरीका घटनाहरू भएका थिए जसले गर्दा फाइबर सेवा प्रभावित हुँदै आएको छ।
टेलिकमले केबल चोरी रोक्न र सेवाको सुरक्षालाई अझ मजबुत बनाउने दिशामा पहल भइरहेको जनाएको छ। प्रभावित ग्राहकहरूलाई असुविधाका लागि क्षमा माग्दै टेलिकमले सेवा चाँडै पुनः सञ्चालन हुने आश्वासन दिएको छ।
सेवाग्राहीहरूले इन्टरनेट सेवा सम्बन्धी गुनासोका लागि नेपाल टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।