काठमाडौं, २५ असोज
गुरुङ समुदाय संस्कार र सस्कृतीमा धनी समुदाय हो । यो समुदायको धेरै संस्कार र सस्कृती हराई सकेका छन् । कति संस्कार र संस्कृती हराउने चरणमा पुगेका छन् ।
नेपालमै आएर गुरुङ समुदायबारे विभिन्न अध्ययन अनुसन्धान गरेका विदेशी विज्ञहले लोपुन्मुख संसकार र सस्कृतीबारे चर्चा गरे। अन्तर्राष्ट्रिय तमू परिषद्को आयोजनामा जारी दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्बाद शृंखला अन्तर्गत तेस्रो दिनको पहिलो सेसनमा आइतबार विदेशी विज्ञहरुले गुरुङ समुदायसँगको आफ्नो सम्बन्ध पनि प्रस्ट्याए ।
आफ्नो विद्यावारिधीका लागि कास्की र लम्जुङका गुरुङ महिलाबारे अध्ययन गरिरहेकी जापानकी नानाको योसिमोतोले गुरुङ समुदायमा प्रचलित रहेको पुरानो विवाह संस्कारबारे चर्चा गरे । ‘पहिलो पटक नेपाल आउँदा विवाहपछि पनि गुरुङ महिलाहरु जन्म घरमै बसेको देख्दा मलाई अचम्मित लागेको थियो’, उनले भनिन्, ‘यस्तो संस्कार जापान र एसियाका अरु देशहरुमा पनि चलनमा छन् । नेपालमा भने यो संस्कार हराउँदै गएको छ ।’
उनी यो अध्ययन गर्नुको कारण सुनाउँछिन्, ‘बिवाह गरेपछि पनि महिलाहरु जन्म घरमै बस्थे । उसका श्रीमान समय समयमा त्यहा आइरहन्थे र त्यसका लागी उनलाई अनुमती पनि दिइथ्यो । यस्तो विवाहलाई समाजले मान्यता पनि दिन्थ्यो । दुई–तीन जना नानीहरु भएपछि मात्रै उनी आफ्नो श्रीमानको घर जान्थिन् । यस्तो विवाह चलन जापानमा पनि रहेकाले मलाई अध्ययनका लागि थप इच्छुक बनाएको थियो ।’
उनी सन् २००८ मा पहिलो पटक नेपाल आएकी थिइन् । त्यसपछि सन् २०१४ मा नेपाल आई उनले आफ्नो अध्ययन सुरु गरेकी हुन् । उनले सबैको संस्कार र सस्कृतीलाई सम्मान गर्नुपर्ने बताइन् ।
यस्तै, नेपालकै गुरुङ समुदायबारे अध्ययन गरेका बेलायती प्राध्यापक साइमण्ड स्ट्रिकल्यान्डले प्ये ताँ–ल्हु ताँ गुरुङ समुदाय बुझ्ने आधिकारीक शास्त्र भएको बताए । उनले प्ये ताँ–ल्हु ताँकै बारे अध्ययन गरेका हुन् । उनी भन्छन्, ‘गुरुङ समुदायलाई चिन्न सहज हुने यो शास्त्र मैले भर्चुअल्ली पनि प्रयोग गर्न मिल्ने गरी सुरक्षित गरेर राखेको छ । तपाईहरुलाई उपलब्ध गराउन तयार छुँ ।’
उनले आफ्नो अध्ययन गर्दा सिक्लेसमा एकसय ४० प्ये ताँ–ल्हु ताँ पत्ता लागेको र त्यसअन्तर्गत १३ सय श्लोक रहेको जानकारी दिए । उनले गुरुङ सहित आदिवासी जनजातीको धर्म सस्कृतीबारे अझै अध्ययन अनुसन्धान गर्न बाँकी रहेको पनि बताए ।
गुरुङ समुदायको बारेमा अध्ययन गरेका अर्का बेलायती प्राध्यापक एलान माक्फार्लनले गुरुङ समुदायसँगको आफ्नो सम्बन्ध प्रस्ट्याए । उनी ५० वर्षदेखि निरन्तर नेपाल आएर गुरुङ समुदायबारे अध्ययन गरिरहेका छन् । उनले ५० वर्षमा १९ पटक नेपालको भ्रमण गरेका थिए । उनले आफ्नो प्रस्तुतीमा आफूले घुमेको पुरानो गुरुङ गाउँको तस्विर सार्वजनिक गरेका थिए ।