Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अस्पताललाई सरकारले सहयोग नगरेको गुनासो

अस्पताललाई सरकारले सहयोग नगरेको गुनासो

इच्छाकामना न्युज

२५, चैत्र २०८१
अस्पताललाई सरकारले सहयोग नगरेको गुनासो
images

चितवन। केन्द्रीय अस्पतालका रूपमा रहेर पनि भरतपुर अस्पताललाई सरकारले बजेट विनियोजन गर्दा विभेद भएको गुनासो सरोकारवालाले गरेका छन् । अस्पतालको ६९ औँ वार्षिकोत्सव समारोहमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले केन्द्रीय अस्पताल घोषणा गरे पनि बजेट विनियोजना गर्दा स्तर अनुसारको नभएको बताउनुभयो । 

images
images

हरेक वार्षिकोत्सवमा स्थानीय जनप्रतिनिधिदेखि प्रधानमन्त्रीसम्मलाई ल्याएर सुनाउँदासमेत कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभएको हो । अस्पतालले स्थापनाकालमा ३१ बिघा जग्गा प्राप्त गरेकोमा अहिले खुम्चिएर १२ बिघामा सीमित हुन पुगेको जानकारी गराउनुभयो । विभिन्न संस्थाका नाममा जग्गा वितरण गर्दा अस्पतालको विकासनिर्माण र अन्य भौतिक सेवा विस्तार गर्न समस्या भइरहेको उहाँको भनाइ छ । उहाँले बिमा सेवामार्फत गरिएको उपचारको ४९ करोड रुपियाँ भुक्तानी नपाउँदा व्यवस्थापन समितिको खाताको रकम सकिन लागेको उल्लेख गर्नुभयो । “बिमाको रकम सरकारले समयमा निकासा गर्दैन । बिरामीलाई सेवा मात्र दिनु भनिरहन्छ । यस्तो अवस्थामा कसरी सेवा दिन सकिन्छ ?” उहाँले भन्नुभयो । 

काठमाडौँको वीर अस्पतालपछि धेरै बिरामीको सेवा र उपचार गर्ने भरतपुर अस्पताल भए पनि यसलाई सरकारले हेर्ने दृष्टिकोणमा सुधार नआउँदा समस्या भएको उहाँको भनाइ छ । २०१३ सालमा स्थापना भएको अस्पतालले विशिष्टीकृत सेवा दिँदै आएको छ । 

रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले गरिबले उपचार गर्न सक्ने गरी अस्पतालको सेवा विस्तार हुनुपर्ने बताउनुभयो । धनी व्यक्तिले जहाँ गएर पनि उपचार गर्न सक्छन् भन्दै उहाँले सरकारी अस्पतालमा गरिब तथा विपन्नले सहज रूपमा उपचार गर्न सक्ने गरी व्यवस्था मिलाउन सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले अस्पतालमा भएको विकास र उपलब्धिलाई पार्टीका व्यक्तिले आफूले गरेको भनेर जस नलिन अनुरोध गर्नुभयो । “विकास एक जनाले मात्र गर्न सक्दैन । यो सामूहिक प्रयासबाट हुने भएकाले मैले होइन, हामीले गर्दा भएको भनेर भन्न सकेमा सबैले अपनत्व देखाउने छन्,” उहाँले बताउनुभयो । 

बागमती प्रदेश सभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले विकास गर्नका लागि सबैको सहयोग आवश्यक हुने बताउनुभयो । भरतपुर अस्पतालको विकासले यहाँका बिरामीले मात्र होइन, देशैभरका नागरिकले सेवा पाउने भएकाले सबैको साथ सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले अस्पतालको विकास र समस्यामा सबैको साथ आवश्यक रहेको धारणा राख्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जनप्रतिनिधिले अस्पातलको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अस्पतालमा अहिले  दैनिक दुई हजारभन्दा धेरै बिरामीले ओपिडी सेवा लिँदै आएका छन् । छ सय शय्याभन्दा बढी क्षमतामा अस्पताल सञ्चालनमा छ ।  

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - ०९:५०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology