चितवन, फागुन१२। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक० चितवन प्रतिनिधि एवम् पत्रकार दिपेन्द्र अधिकारीले मानवअधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत प्राप्त गरेको पुरस्कार पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । आज पुरस्कार रकम राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको परिवारलाई हस्तान्तरण गरिएको हो । इन्सेकले यस वर्ष उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीलाई सम्मान एवम् सात हजार नगद सहित पुरस्कृत गरेको थियो । मृतक राजकुमारको दुई वर्षको छोरी एलिना चेपाङको शिक्षामा प्रयोग हुने गरी बालिकाको नाममा खोलिएको बैँक खातामा सो रकम जम्मा गरिएको हो ।जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीमार्फत् रकम हस्तान्तरण गरिएको हो ।मानवअधिकारको क्षेत्रका सक्रिय भइ काम गरे वापत पाएको पुरस्कार मानवअधिकार उलंघन भइ पीडित बनेका परिवारका लागि उपलब्ध गराउनु सह्रानीय काम भएको जिसस प्रमुख डल्लाकोटीले बताए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सहयोग गरिएको रकमले प्रत्यक्ष रुपमा बालिकालाई उनको शिक्षादिक्षामा फाइदा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।प्रजातन्त्र दिवसको दिन हेटौंडामा आयोजित इन्सेक मानवअधिकार वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका मुख्यन्यायधीवक्ता ओमप्रसाद थपलियाले नगद सात हजार प्रमाणपत्रसहित सम्मान एवम् पुरस्कृत गरेका थिए । जिल्लाको मानवअधिकार गतिविधिमा सक्रिय सहभागिता जनाएको, मानवअधिकारको पक्षमा निरन्तर वकालत गरेको र उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिल्ला प्रतिनिधि अधिकारीलाई सम्मान गरिएको इन्सेक वागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए ।साउन १ गते चितवन निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका कर्मचारीको निर्घात कुटपिटबाट सख्त घाइते भएका २४ वर्षीय राजकुमारको साउन ७ गते उपचारकालागि भरतपुर लगिँदै गर्दा निधन भएको थियो । यस घटनाका आरोपित सेनाका हुद्दा तहका कर्मचारी चिरण बुढा जिल्ला अदालत चितवनको असोज २७ गतेको आदेशले पूर्पक्षका लागि थुनामा छन् । यस घटनामा अन्य ६ जनामाथि पनि कुटपिट भएको थियो ।