काठमाडौं । राजावादी आन्दोलनका ‘जनकमान्डर’ भनिने दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ । तर पक्राउ पर्ने सूचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।
काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए । त्यसपछि आफूलाई पक्राउ गर्न आउन नपर्ने, आफू नै जहाँ बोलाउँछौं त्यहीँ आउँछु भनी प्रहरीलाई चुनौती दिएका प्रसाईं त्यसलगत्तै सम्पर्कविहीन भएका छन् । उनलाई प्रहरीले खोजी रहेको छ ।
उता राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
त्यस्तै राजावादी समर्थक स्वागत नेपाल पनि पक्राउ परेका छन् भने राजावादीका संयोजक नवराज सुवेदीलाई घरमै निगरानीमा राखिएको छ ।