देवघाट, पुस २९ । तनहुँको देवघाट गाउँपालिका र मुस्ताङको वरागुङ मुक्तिक्षेत्र गाउँपालिका विच दोश्रो पटक भगिनी सम्बन्ध कायम भएको छ ।
सोमबार देवघाट गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा उक्त दुई पालिकाको विचमा भगिनी सम्बन्ध कायम भएको हो । यस अघि २०७८ पौष १४ गते उक्त दुई पालिकाको विचमा भगिनी सम्बन्ध कायम भएको थियो । देवघाट गाउँपालिकाका तत्कालिन अध्यक्ष दुर्गबहादुर थापाले मुस्ताङ पुगेर पहिलो पटक भगिनी सम्बन्ध कायम गरेका थिए ।
सोमबार यि दुई पालिकाले भगिनी सम्बन्धलाई निरन्तरता दिने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । मुस्ताङको प्रसिद्ध धामिर्क स्थल मुक्तिनाथ मन्दिर वरागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पर्छ । सोही मुक्तिनाथको काखबाट बगेको कालिगन्डकी नदी देवघाट गाउँपालिकामा आएपछि त्रिशुली नदीसँग मिसिएर नारायणी नदीको रुपमा बहन्छ ।
यसैकारण पनि यि दुई गाउँपालिका विच भावनात्मक सम्बन्ध रहेको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । भगिनी सम्बन्ध स्थापना सम्बन्धि पत्रमा देवघाट गाउँपालिकाको तर्फबाट अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिं गुरुङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् भने वरागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट अध्यक्ष रिङजिन नामगेल गुरुङ , उपाध्यक्ष दिकी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले हस्ताक्षर गरेका थिए ।
हिन्दुहरूले विशेष आस्था गरिने कृष्णागण्डकी विशेष धार्मिक नदीले यि दुई पालिकाहरुको महत्व बढाएको छ । विश्वमा एकमात्र शालग्राम पाइने नदी यही नदी हो । प्राकृतिक दृष्टिले अनौठो र दामोदरकुण्ड हुँदै मुक्तिनाथ देखि त्रिवेणी सम्मको यात्रामा यस नदीले प्रशस्त धार्मिक पुण्यभूमिहरू दिएको छ । यी दुई पालिकाहरु धार्मिक आस्थाका केन्द्र मात्र नभएर विशाल संस्कृति र सभ्यताका उद्गमभूमि पनि हुन् ।
देवघाटधाम र वारागुङ मुक्तिक्षेत्र दुबै महत्वपूर्ण धार्मिक एमं पर्यटकीय क्षेत्र हुन् । देवघाट गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका दुबै कालीगण्डकीको सामिध्यमा पर्ने पालिका हुन् ।
यी दुबै पालिका नेपालको उत्तरी भेग देखि दक्षिणी भेगसम्म कालीकण्डकी नदीको सभ्यताले जोडिएको हुँदा नेपाली समाजका परम्परागत आस्थाका केन्द्र पनि रहेका छन् । यहाँका विभिन्न मेला, पर्व, जात्रा र पूजाआजाका क्रममा हुने मानिसको आवागमनका साथै ग्रामीण उत्पादनको व्यापारका कारण आन्तरिक तथा वाह्य धार्मिक पर्यटन यहाँको समृद्धका आधार बनेको प्रस्तावना पत्रमा उल्लेख छ ।