काठमाण्डौ, ६ फागुन । नेकपा ओली समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन प्रचण्ड–नेपाल समूहलाई आग्रह गरेको छ । विकल्पमा निर्वाचन आयोग र नेपाली कांग्रेसको निर्णय पर्खिन प्रस्ताव गरेको थियो । तर प्रचण्ड–नेपाल समूहका नेताहरुले तीन वटै प्रस्ताव अस्वीकार गर्दै प्रदेशसभाको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएको थियो ।
प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।त्यसबेला मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव सामना गर्ने प्रतिक्रिया दिनुभएको थियो । ७ माघमा प्रदेशसभा अधिवेशन सुरु भयो । तर प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था आएपछि सत्तारुढ पक्षले नै प्रदेशसभा अवरुद्ध गरेको छ । अर्को बैठक ९ फागुनमा बोलाइएको छ ।
त्यसको तीन दिन अघि आज नेकपाको ओली र प्रचण्ड–नेपाल समूहका नेताहरुबीच छलफल भएको छ । छलफलमा ओली पक्षबाट आन्तरिम मालिलामन्त्री हिक्मत कार्की र सांसद विमल कार्की तथा प्रचण्ड–नेपाल पक्षबाट इन्द्र आङ्बो, जीवन घिमिरे र लक्षण तिवारी सहभागी हुनुभएको थियो ।