Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिजो र आजको सिक्लेस

हिजो र आजको सिक्लेस

इच्छाकामना न्युज

२८, मंसिर २०८१
हिजो र आजको सिक्लेस
images

कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा पर्दछ सुन्दर गाउँ, सिक्लेस । पछिल्लो समय आन्तरिक पर्यटकहरूको पहिलो रोजाइमा सिक्लेस गाउँ पर्ने गरेको छ । यहाँको कला, संस्कृति र प्राकृतिक  सुन्दरताले गाउँमा आउने पर्यटकलाई आकर्षित गर्ने गर्दछ । 

images
images
सिक्लेसबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई सजिलै लोभ्याउने गर्दछ । करिब चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै दोस्रो ठुलो गाउँ हो । सिक्लेसलाई सात सय सिक्लेस भनेर पनि प्रख्यात छ । 
 

सिक्लेस हुँदै कोरी, क्हफुचे र गुरुङहरूको पैतृक थलो क्होलासोथर समेत सजिलै जान सकिन्छ भने सिक्लेसबाट तसा, कोरी, ठुल्ने, दुधपोखरी हुँदै मनाङसमेत निस्कन सकिन्छ । परापूर्वकालमा मनाङ नुन लिन जाँदा यो सिक्लेसको बाटो भएर जाने गरेको बताइन्छ । सिक्लेससँग विशेष गरी तीनवटा विशेषताहरू रहेका छन् । 

 

क. सांस्कृतिक विशेषता: 

 

सिक्लेस गाउँ गुरुङ जातिको बाहुल्यता भएको गाउँ हो । गुरुङ प्ये ( शास्त्र ) मा सिक्लेस गाउँको आफ्नै व्याख्या र महत्त्व पाउन सकिन्छ । गुरुङ समुदायमा प्ये म्हयस्या च्यीली याद अर्थात् शास्त्र हराए एक चोटि सिक्लेस पुग्नु भन्ने भनाई पनि छ । जसको तात्पर्य हुन्छ, गुरुङ समुदायको सांस्कृतिक इतिहासमा यो गाउँको महत्त्व । 

सिक्लेस गाउँलाई गुरुङ भाषामा च्यीली भनेर चिनिन्छ । गाउँको नाम च्यीलीबाट कसरी सिक्लेस रहन गयो भन्ने बारे हालसम्म त्यस्तो कुनै यकिन तथ्य, प्रमाण तथा विवरणहरू फेला परेको छैन । यद्यपि गुरुङ समुदायको मौलिक प्येमा च्यीली भनेरै अध्ययन गर्ने गरिन्छ । जसलाई च्यीली क्याल्सा, च्यीली ङारु पनि भनिन्छ । 

गुरुङहरू क्होलासोथरबाट सिक्लेस बसाइसरि आउने क्रममा सुरुमा पाँच थरका गुरुङहरू आई बसेकोले सिक्लेसलाई च्यीली ङारु भनिएको गुरुङ खेकीहरु बताउँछन् । यहाँको भाषा, संस्कृति, परम्परा, रीतिथिति र चालचलनहरू नै सिक्लेस गाउँको प्रमुख विशेषता हो, जुन अन्य ठाउँमा पाउन सकिँदैन ।

ख. प्राकृतिक विशेषता

समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाइमा अन्नपूर्ण र लमजुङ हिमालको काखमा यो गाउँ पर्दछ । सिक्लेसको जहाँबाट हेर्दा पनि हिमाललाई देख्न सकिन्छ । गाउँको माथि नाँसाकोमा सिक्लेस पार्क निर्माण गरिएको छ भने चायाक्वोबाट हिमपहिरो खसेको मजाले देख्न सकिन्छ । अझ हिँड्न सक्नेहरूको लागि रिसिधुँ डाँडा (पछिल्लो क्रममा राजिङ डाँडा भनिएको ) बाट हिमाललाई नजिकै देख्न सकिन्छ ।

सिक्लेस र नजिकका घुम्नैपर्ने ठाउँहरू

१. सिक्लेस पार्क गाउँबाट २० मिनेट उकालो खुला चौरबाट हिमालको दृश्यावलोकन

२. चायाक्वो डाँडा गाउँबाट १५ मिनेट तेर्सो बाटो हिमाल र चराचुरुङ्गीको अवलोकन

३. इदी झरना गाउँबाट करिब १ः३० घण्टा झरना र चराचुरुङ्गीको अवलोकन

४. तातोपानी कुण्ड गाउँबाट करिब १ः३० घण्टा तातोपानीमा स्नान

५. कोरी गाउँबाट २ दिनमा पुग्न सकिने भुँइ फुल, हिमाल र वन्यजन्तु जनावरहरूको अवलोकन

६. क्हफुचे गाउँबाट १ दिनमा पुग्न सकिने हिमताल, हिमाल र वन्यजन्तु जनावरहरूको अवलोकन

७. ताराहिल टप गाउँबाट १ दिनमा पुग्न सकिने,

घलेखर्कबाट पनि आउन सकिने हिमशृङ्खला, गुराँस, वन्यजन्तु जनावरहरूको अवलोकन

८. त्ही डाँडा गाउँबाट १ दिनमा पुग्न सकिने हिमशृङ्खला, गुराँस, वन्यजन्तु जनावरहरूको अवलोकन

९. क्होलासोथर गाउँबाट १ दिनमा पुग्न सकिने गुरुङ समुदायको बस्तीको पुरानो भग्नावशेषहरू रहेको, अध्ययन अनुसन्धानको थलो ।

१०. सिक्लेस म्युजियम गाउँभित्रै गुरुङ समुदायसँग सम्बन्धी पुराना पुराना सामाग्री र इतिहासबारे जानकारी हुने

११. क्होँइवो धीँ गाउँको दायाँ र बायाँ दुई ठाउँमा मौलिक वोन धर्मको आस्थाको केन्द्र, गुरुङ संस्कृतिका वारे जानकारी

ग. राजनीतिक इतिहास: 

सिक्लेसले देशको मुख्य राजनैतिक घटनाक्रममा ठुलो भूमिका खेलेको छ । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , अर्का नेता बाबुराम भट्टराई मिति २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएको र तत्कालीन सरकारी वार्ता टोलीका संयोजक कृष्ण प्रसाद सिटौला सिक्लेस आई विस्तृत शान्ती सम्झौताको खाका सिक्लेसबाटै कोरिएको हुनाले शान्ति सम्झौताको प्रस्थान विन्दुको रूपमा नेपाली राजनीतिको इतिहासमा सिक्लेसलाई लिने गरिन्छ ।

सिक्लेसमा पर्यटनको अवस्था:

कास्की जिल्ला मादी गाउँपालिका वडा नं १ मा पर्ने सिक्लेसमा हाल पर्यटनको अवस्था सन्तोषजनक छ । बाह्य भन्दा आन्तरिक पर्यटकले भरिपूर्ण हुने सिक्लेसमा दैनिक रूपमा ४/५०० सय पर्यटक गाउँमा भित्रिने गर्दछ भने शुक्रवार र बिदाको दिनमा भने त्यसको तीन गुणा जस्तो सङ्ख्यामा पर्यटक गाउँ आउने गर्दछन् । यद्यपि होटल होमस्टेले पाहुनाको विवरण राख्ने कार्य भने गर्न सकेको छैन । सिक्लेसमा हाल सिक्लेस सामुदायिक होमस्टे समिति मातहत ३७ वटा होमस्टेहरू र सिक्लेस होटल व्यवस्थापन समिति मातहत ४७ वटा होटलहरु सञ्चालनमा रहेका छन् ।

  • सिक्लेसको पर्यटनमा देखिन सक्ने चुनौती तथा समाधान:

१. गाउँको घरको स्वरूप परिवर्तन: 

दिन प्रति दिन सिक्लेसमा घरहरू थपिने क्रम जारी छ । सिक्लेसको पुरानो ढुंगा माटो र जस्ताले बनेको घरको स्वरूप बिस्तारै परिवर्तन हुन थालेको छ । पुराना ती स्वरूपहरू सिमेन्ट र ढलान घरहरूले विस्थापित गर्ने देखिन्छ । जसले गर्दा सिक्लेसकै पुरानो स्वरूप कुरूप बन्ने उत्ति नै सम्भावना छ । यसको लागि स्थानीय स्तरबाट र गाउँपालिकाबाट सिक्लेसको लागि एउटै छुट्टै बिल्डिङ कोड बनाई लागु गर्न सके सिक्लेस पछिसम्म सिक्लेसकै संरचनामा रहनेछ । 

२. पदमार्ग व्यवस्थापन:

हाल सिक्लेसबाट सिक्लेस कोरी, सिक्लेस क्हफुचे, सिक्लेस क्होलासोथर, सिक्लेस ताराहिल , सिक्लेस मनाङ र सिक्लेस त्ही डाँडा लगायतका पदमार्गहरू सञ्चालनमा छन् । यी सबै पदमार्गहरू मध्ये सिक्लेस कोरी, सिक्लेस क्हफुचे पदमार्गमा मात्र खाना बस्नको सुविधा छ भने अन्य पदमार्गहरूमा खाना बस्नको लागि स्वयमले व्यवस्था गरि जानुपर्ने हुन्छ । पछिल्लो क्रममा एकदमै चलेको पदमार्ग भनेको सिक्लेस कोरी, क्हफुचे पदमार्ग हो जहाँ खाना बस्नको लागि साना साना होटलहरु सञ्चालनमा रहेका छन् । ती पदमार्गहरूको स्तरोन्नतिको लागि एक्याप कार्यालय, वडा, गाउँपालिका, गण्डकी प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था हुने गरेको छ । तर ती क्षेत्रहरूमा निर्माणाधीन तथा निर्माण हुन लागेका ठुला ठुला परियोजनाहरू जस्तै हाइड्रोपावर, केबलकार जस्ता परियोजनाहरूले ती पदमार्गहरूलाई नकारात्मक प्रभावहरू पार्ने उत्तिकै सम्भावना रहेको देखिन्छ । कोरी, क्हफुचे पदमार्गको अलावा सम्भावना एकदमै भएको तर प्रचारमा नआएका अन्य पदमार्गहरूको विकास प्रवर्धनको लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्छ ।

३. पर्यटन व्यवसायी र पर्यटकहरूको लागि आचारसंहिता:

गाउँमा पर्यटकहरू आएसँगै राती अबेरसम्म होहल्ला गरेको, आपसमा झैझगडा हुने गरेको तथा फोहोरमैला समेत बढ्न थालेको गुनासाहरू स्थानियवासीबाट आउने गरेको छ । त्यसैले पर्यटन व्यवसायी र पर्यटकहरूका लागि वडा कार्यालयले पर्यटन व्यवसायीहरूसँग बसेर गरेका आचारसंहिताहरू अक्षरशः पालना गर्नुपर्ने देखिन्छ । अन्यथा भोलिको दिनमा स्थानीयबाट नो मोर टुरिजम इन सिक्लेस समेत भन्न सक्ने सम्भावना छ ।

४. थप नयाँ गन्तव्यहरूको पहिचान:

गाउँमा आउने पर्यटकहरूलाई सिक्लेस बसाइ लम्ब्याउनको लागि थप नयाँ नयाँ गन्तव्यहरूको पहिचान गरी त्यसको प्रचार र विकासको लागि थप वडा गाउँपालिका, एक्याप, स्थानीय व्यवसायी र पर्यटनसँग निकायबिच समन्वय गर्नुपर्ने देखिन्छ ।

सिक्लेस कसरी पुग्न सकिन्छ ?

पोखराबाट ३८ कि.मी दुरीमा रहेको सिक्लेस पुग्नलाई पोखरा १३ काहुँखोलामा गाडी पाउने गर्दछ । हिउँदको समयमा बाइक, स्कुटर, जिप, बसमार्फत सिक्लेस आउन सकिन्छ भने वर्षायाममा बाइक र जिपमार्फत सिक्लेस आउन सकिन्छ । काहुँखोलाबाट विजयपुर, छाचोक, तप्राङ, चिप्ली, खिलाङ, पार्चे गाउँ हुँदै सामान्यतय २ देखी ३ घण्टाको समयमा सिक्लेस आइपुगिन्छ ।  जिपमा प्रतिव्यक्ति रु ५००, बसमा प्रतिव्यक्ति रु ४०० तिरेर पोखराबाट सिक्लेस आउन सकिन्छ । जिप मान्छे भरेपछि जुनसुकै समयमा पनि आउँछ भने बस चाहिँ बिहान र दिउँसोको समयमा आउने गर्दछ । 

images
प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - ०९:१७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology